images
images

कटारी १० का राजनीतिक दलद्वारा चुनाव वहिष्कारको निर्णय फिर्ता

जन्ताभ्वाईस सम्बाददाता
२२ कार्तिक , मंगलबार , २०७९
कटारी / कटारी नगरपालिका १० का राजनीतिक दलका प्रतिनिधिहरुले गरेको निर्वाचन वहिष्कारको निर्णय फिर्ता लिएका छन् । स्थानीय तहको निर्वाचनका दिन गएको वैशाख ३० मा गोली चल्दा एक जनाको मृत्यु भएको मतदान स्थलबाट मतदान गर्ने एउटा वडाका बासिन्दाले मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने निर्णय गरेका थिए ।
आज मंगलबार नगरपालिकाको कार्यालयमा वसेको सर्वदलिय सर्वपक्षिय वैठकले निर्वाचन वहिष्कारको निर्णय फिर्ता गर्दै त्यहाँ निर्वाचन हुने वातावरण तयार गरेको हो । घटनाको गृहमन्त्रालय बाट गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयलाई आग्रह गर्ने , मृतकलाई सहिद घोषणाका लागि पुनःपहल गर्ने , वैशाख ३१ को सहमतिमा भएअनुसारको राहत रकम १० लाख मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय गाईघाटमा आईसकेकोले मृतकका बाबु जितबहादुर कटुवाललाई उपलब्ध गराउने सहमति पछी निर्वाचन वहिष्कार गर्ने निर्णय फिर्ता भएको हो ।
निर्वाचन वहिष्कारको निर्णय फिर्ता भएसँगै भोलिदेखि राजनीतिक दलका गतिविधि गर्न वडामा खुल्ला गरिएको छ । ‘भोलिदेखि चुनावी गतिविधि खुल्ला गर्ने निर्णय भयो ।’वडाध्यक्ष क्षेत्रबहादुर खड्काले भन्नुभयो –‘अन्य प्रकृया कायम राखेर तुरुन्तै गहृ मन्त्रालयबाट राहत रकम प्राप्तहुने भएपछी निर्वाचन हुन दिने निर्णय भएको हो ।’
स्थानीय निर्वाचनको मतदानका दिन कटारी १० को जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रमा प्रहरीको गोलीबाट स्थानीय वीरबहादुर कटुवालको ज्यान गएको थियो । उक्त घटनामा मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए । घटना पश्चात स्थानीय बासिन्दाले मतपेटिका उठाउन नदिई शव समेत घटनास्थलबाट उठाएका थिएनन् ।
समस्या समाधानका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव सहितको सुरक्षा निकायको वार्तापछि सहमतिमार्पmत मतगणना अघि बढेको थियो । घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, दोषिलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई सहिद घोषणा गर्ने, घटनाका घाइते मोहन बहादुर श्रेष्ठलाई उपचार र क्षतिपूर्ति नेपाल सरकारबाट गराउने सहमति भएको थियो ।
सहमति अहिले सम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरुले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए । तर आज नगरपालिकाका मेयर राजेशचन्दश्रेष्ठ , उपमेयर गिता खड्का सहित , ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख चेतराज बराल , राजनीतिक दलका नगर र जिल्ला तथा केन्द्रीय प्रतिनिधि सहितको वैठकले निर्वाचन वहिष्कार गर्ने निर्णय फिर्ता गरेको हो । ‘वडादेखि माथिल्लो सवै तहका दलका प्रतिनिधि , प्रशासन , सुरक्षा निकायको वैठकबाट त्यहाँ निर्वाचनगर्ने निर्णय भयो ।’मेयर श्रेष्ठले भन्नुभयो –‘पीडितलाई आवश्यक राहत र न्याय दिन नगरपालिकाले निरन्तर पहल गरिरहेको छ ।’
यसअघि उक्त वडामा सहमति नभएसम्म निर्वाचनका गतिविधि गर्न दिईएको थिएन् । भोलिदेखि भने वडामा उमेद्वार सहितका राजनीतिक कार्यक्रमहरु सुरु हुनेछ । उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा ख अन्र्तगत पर्ने यस वडामा स्थानीय चुनावमा उक्त वडामा १४ सय ६८ मत खसेको थियो । वडामा २१ सय ४० मतदाता छन् ।