तस्बिर साभार सविता मगरको फेसबुकबाट ।
जन्ताभ्वाईस सम्बाददाता
शनिबार , २२ असोज , २०७९
कटारी / कटारीमा बुवाको मृत्युपछी छोरीले किरियापुत्री वस्दै किरियापुत्री वस्न छोरा नै हुनुपर्ने मान्यता तोड्न थालेका छन् । वडादसैंको टिकाकै दिन बुधबार बुवा अम्बरबहादुर मगरको मृत्यु भएपछी कटारी नगरपालिका ६ नम्बर वडाको आँपडाडामा मगरको छोरी सावित्रा थापा मगर किरिया पुत्रीमा वसेकी हुन् ।
रक्तचापका कारण मगरको ५६ वर्षको उमेरमा टिकाकै दिन मृत्यु भएपछी २३ वर्षीया छोरी सावित्रा किरियापुत्रीमा वसेका हुन् । दाहसंस्कारका लागि स्थानीय वैद्यनाथ खोलामा पुगेर दागवत्ती दिंदै संस्कृति अनुसार कपाल काटेर सावित्रा किरियापुत्री वसेकी हुन् ।
मृतक मगर र श्रीमति भोटिमाया मगरको छोरा थिएनन् । ४ छोरी मध्ये ३ छोरीको विवाह अन्यत्र भईसकेको छ । बुवाको मृत्युपछी कान्छी छोरी सावित्रा समाजले छोरा नै किरियापुत्री वस्नुपर्ने सामाजिक भेदभाव तोड्दै किरियापुत्री वसेकी हुन् ।
पितृसतात्मक सोचको अन्त्य गर्नका लागि उदयपुरमा छोरीहरुले किरियापुत्री वस्ने क्रम बढ्दै गएको सावित्राका आफन्त समेत रहेकी समाजसेवी सविता मगरले बताईन् । गतवर्ष कटारी नगरपालिकाकै वडा नम्बर ५ को वर्मजियामा पनि २ छोरीले बुवाको काजिकिरिया गरेका थिए । २०७८ सालको जेठमा ६० वर्षीय बलबहादुर मगरको मृत्युपछि दुई छोरीले दाहसंस्कार गरेका थिए । १७ वर्षीया कुमारी र २० वर्षीया भगवतीले गाउँलेको सहयोगमा काजकिरिया सम्पन्न गरेका थिए ।


जनता भ्वाइस 







