जन्ताभ्वाईस सम्बाददाता
१६ असोज , आईतबार , २०७९
कटारी / निर्माणाधिन मदनभण्डारी राजमार्ग अन्र्तगत भिमान – कटारी –गाईघाट–चतरा सडक खण्डमा सवारीसाधनहरुको आउजाउ बढेको छ । दसैंमा घर आउजाउ गर्ने प्रदेश एकका पूर्वेली यात्रुहरुलाई यो सडकखण्डले सहज बनाएको छ ।
सिन्धुलीको भिमानदेखि उदयपुरको कटारीहुँदै सुनसरीको धरान चतरा जाने यात्रुहरुका कारण दसैंमा सवारी चाप बढेको छ । ‘दसैंमा यो बाटो प्रयोग गर्नेहरु ह्वात्तै बढेका छन् ।’ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाले भन्नुभयो –‘दैनिक ५ सय बढी सवारीसाधन पूर्व भित्रिरहेका छन् , आउजाउ दोहोरो हेर्दा धेरै सवारीसाधन दसैंमा यो बाटोबाट आउजाउ गरिरहेका छन् ।’
कटारी सिन्धुलीको भिमानबाट पूर्व भित्रिने प्रमुख नाका हो । सहायक प्रहरी निरिक्षक कोईरालाका अनुसार हजारबढी मोटर साईकल , नीजि सवारी साधन तथा हजारबढी यात्रुबाहक सवारी साधन दैनिक आउजाउ गरिरहेका छन् ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय , गाईघाटका योजना प्रमुख गोपाल खकुरेलले सडक तयारी अवस्थामा रहेकाले यसले यात्रुहरुलाई सहज भएको बताउनुभयो ।‘महेन्द्र राजमार्ग पनि मर्मत भईरहेको छ त्यसैले यो सडकले राहत दिलाएको छ । ’खकुरेलले भन्नुभयो–‘सवारीको चाप बढ्ने भएपछी निर्माणाधिन पुल आसपास पनि कल्भर्ट बनाएको छौं , खाल्डाखुल्डी पुरेका छौं ।’
नयाँ बाटो , सवारी कम र छोटोबाटो भएकाले पनि यहाँ आउजाउ गर्दा छिटो गन्तब्यमा पुगिने चालकहरु बताउँछन् । भिमानदेखि चतरा १ सय ३४ किलोमिटर सडकखण्डमा १२ वटा पुल निर्माणाधिन अवस्थामा छन् । निर्माणाधिन लगभग ८ किलोमिटर सडकखण्ड पुल निर्माणहुँदै गरेका कारण कच्ची अवस्थामा छ । महेन्द्र राजमार्गको विकल्पका रुपमा लिईएको मदनभण्डारी राजमार्गले अहिले विकल्प दिन थालेको छ ।
महेन्द्र राजमार्ग मर्मत हुँदै गरेको अवस्थामा यसले थप दुवै राजमार्गका यात्रुहरुलाई सहज बनाएको छ । पूर्ण रुपमा निर्माण सम्पन्न भईनसकेकाले सवारीसञ्चालनका लागि अनुमति पाउन बाँकी रहेपनि यसले वैकल्पिकबाटो बाट छिटो यात्रुहरुलाई गन्तब्यमा पुराईरहेको छ ।दसैंमा छिटो छरितो गरी गन्तब्यमा जान पाईनेभएपछी उदयपृुर र सुनसरी पूर्वका जिल्लाहरुका यात्रुहरुले यो सडकलाई प्रयोगमा ल्याएका छन् ।


जनता भ्वाइस 







