images
images

चिप्टार–बाईटार सुनकोसी झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती

जन्ताभ्वाईस सम्बाददाता
२७ भदौ ,सोमबार , २०७९
कटारी / उदयपुरको कटारी नगरपालिकाका १० चिप्टार र खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिका २ बाईटार जोड्ने सुनकोसीमा निर्माणाधिन चिप्टार–बाईटार सुनकोसी झोलुङ्गे पुल तीन वर्ष वितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७६ वैशाख २६ देखि ३० महिनामा सक्नेगरी ठेकेदारले निर्माण सुरु गरेको तीन वर्ष वितिसक्दा पनि पुल निर्माण हुन नसकेको हो ।
पूर्वाधार विकास कार्यालय गाईघाटबाट ३ करोड ५० लाखमा निर्माण भईरहेको पुलको काममा ठेकेदारले ढिलासुस्ती गरेको स्थानीयले गुनासो गरेका छन् । कटारी –१० , का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले ठेकेदारले अभैm पुल निर्माण नसकको जानकारी दिनुभयो ।‘ अभैm निर्माण गरिसकेको छैन् ।’वडाध्यक्ष खड्काका अनुसार पुल नबन्दा स्थानीयले काठको डुंगाबाट आउजाउ गरिरहेका छन् ।
ठेकेदार बसन्त वुढाथोकीले हाल पुलको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘ लट्ठा राख्न बाँकी छ कोसीको बाढीका कारण राख्न नसकिएको हो ।’ वाढी घटेपछी वीस दिनमा काम सक्ने पनि ठेकेदार वुढाथोकीले दावी गर्नुभयो । स्थानीयले भने पटक पटक दबाव दिंदा पनि ठेकेदारले ढिलासुस्ती गर्ने गरेको आरोप लाएका छन् ।
ठेकेदार बुढाथोकीले सरकारले पुलका लागि आवश्यक लट्ठा उपलब्ध नगराउँदा पनि काममा ढिला भएको बताउँदै आएका थिए । पुल नहुँदा खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिकाको वडा नम्बर १ र २ का स्थानीय र कटारी नगरपालिकाका स्थानीयले जोखिम मोलेर काठको डुंगामा आउजाउ गर्ने गरेका छन् ।
विशेष गरेर खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिकाको वडा नम्बर १ र २ का स्थानीयले दैनिक उपभोग्य सामाग्री लगायतका किनमेल गर्न उदयपुरको दोस्रो व्यापारिक केन्द्र कटारी आउनुपर्ने वाध्यता छ । चाडबाड नजिकिंदै जाँदा यस वर्ष पनि पुल अभावका कारण डुंगाबाट जोखिम मोलेर सामाग्री ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।