जन्ताभ्वाईस सम्बाददाता
१७ भदौ , शुक्रबार , २०७९
कटारी / विहिबार साँझ कटारी बजारको दृष्य फरक देखिएको थियो । बजारको मुख्य सडकखण्डभरी चुनढुंगा बोकेका ट्रिपरहरु थिए । बजारको नगरपालिका जानेचोकदेखि माथिल्लो बजारसम्मै ट्रिपरले भरिएका थिए ।
सौर्य सिमेण्टका लागि कटारी बजारबाट नै सिद्धिचरण राजमार्ग भएर चुनढुंगा ढुवानी सुरु भएपछी बजारमा ट्रिपर भरिएका हुन् । साँघुरो सडक ट्रिपर बाहेकका साना सवारीलाई समेत आउजाउमा समस्या थियो ।
ढालाभन्दा माथिसम्म भरिएका ओभरलोड ट्रिपर असरल्ल बजारभरी रहँदा , व्यवस्थापन गर्नुपर्ने निकाय ट्राफिक प्रहरी , प्रहरी भूगोलपार्क मुकदर्शक देखिएका थिए । यसअघि चुनढुंगा ढुवानी गर्ने ट्रिपरहरु खोलाको बाटोहुँदै कटारी —१ को वेलसोतबाट सिराहाको सिमेण्ट उद्योग सम्म जाने गरेका थिए ।
यसवर्षदेखि भने बजारहुँदै , मूख्य सडकबाट नै चुनढुंगा ढुवानी सुरु भएको हो । साँझमा एकैपटक सडक नै कब्जा गरेर लोडसहित निस्किएका र तँछाडमछाड गर्दै हुँईकिएका ट्रिपरबाट ज्यान जोगाउनुनै मुस्किल हुने गरेको छ ।
जिर्ण सडकखण्ड ,विभिन्न स्थानमा गरिएका मर्मत सम्हारको सडकखण्ड समेत ओभरलोड ट्रिपरका कारण झनै जिर्ण हुँदै जाने देखिएको छ ।विगतमा पटक पटकको छलफलमा पनि मूख्य सडकमा आउजाउ गर्न नदिई खोलाको बाटो प्रयोग गर्दै आएका ट्रिपरहरुले यसवर्षदेखि भने मूख्य सडकबाटै ढुवानी सुरु गरेका हुन् ।


जनता भ्वाइस 










