जन्ताभ्वाईस सम्बाददाता
विहिबार , ९ भदौ , २०७९
कटारी /कटारी नगरपालिकाले बेरुजु फर्छ्योट गर्न गर्न १५ दिनको समय दिएको छ । कटारी नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन बमोजिमको बेरुजु फर्छ्यौट गर्न नगरपालिकाले समय सीमा तोकेको हो ।
आज कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले बेरुजु रहेको कर्मचारी , पदाधिकारी , उपभोक्ता समिति , निर्माण व्यवसायी तथा अन्य संघसंस्थाहरुको नाममा रहेको बेरुजु पटक पटक ताकेता गर्दा पनि सम्परिक्षणका लागि वेवास्ता भएको भन्दै १५ दिनको समय दिएको हो ।
‘१५ दिन भित्र नगरपालिकाको बेरुजु शाखामा आई बेरुजु फर्छ्यौटको प्रकृया पुरा गर्न जानकारीका लागि अनुरोध छ ।’सुचनमा उल्लेख गरिएको छ ।‘अन्यथा अर्को पटकको सुचनामा सम्पूर्ण बेरुजु कायम रहेको कर्मचारी , पदाधिकारी , विद्यालय , उपभोक्ता समिति , निर्माण व्यवसायी तथा संघ संस्थाहरुको नाम सार्वजनिक गरिने जानकारी गराईन्छ ।’
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार कटारी नगरपालिकाको वेरुजु ९ करोड बढी छ । उदयपुरका ८ स्थानीय तहमध्ये कटारी सवैभन्दा बढी बेरुजु भएको स्थानीय निकाय हो । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतमा अनिल किराती आउनुभएसँगै कटारी नगरको प्रशसानमा सुधारहुँदै गएको छ। बेरुजु फर्छ्यौटका लागि किरातीले १५ दिने समय सीमा सहितको सुचना जारी गर्नुभएको हो ।


जनता भ्वाइस 








