images
images

अस्तव्यस्त कटारी नगर सुधार्दै प्रमुख प्रशासकीय अधिकृत अनिल किराती

सेवाग्राहीहरुको काम अघि बढाउँदै प्रमुख प्रशासकीय अधिकृत किराती
-अभि लामिछाने
बुधबार , ८ भदौ , २०७९
कटारी /पछिल्लो पुस्ताले ‘देश पछि पर्नुको मुख्य कारण राजनीतिक दल र नेताहरु खराब भएर हो’ भन्ने निष्कर्ष निकाल्दै गालि वर्षाउने गरेका छन् । त्यो आरोपको पुष्टि गर्न खोज्दा अर्को भाष्य खडा हुन्छ, ‘देश बिगारेको नेताले होईन, कर्मचारीतन्त्रले हो । इमान्दार र राष्ट्रबादी नेतालाई पनि कर्मचारीतन्त्रले घुस्याहा, कमिसनखोर र राष्ट्रघाति बनाईदिन सक्छ ।’
यी दुई भाष्य परस्परबिरोधीजस्ता देखिए पनि अन्तरसम्बधित छन् । अर्थात नेताले चाहँदा समाज परिवर्तन हुनसक्छ, तर, एउटै हाकिमले चाहाँदा धेरै सुधारका काम हुनसक्छन् । त्यसको उदाहरण उदयपुरको कटारी नगरपालिकामा देखिएको छ । ६ महिनाअघि मात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर कटारी आउनुभएका अनिल किरातीको प्रयासले छोटै अवधिमा नगरमा एकपछि अर्को सुधारका संकेत देखिन थालेको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ स्थायी घर भएका ३४ वर्षीय किराती माघदेखि कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत हुनुहुन्छ । २०६९ सालमा राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) भएर निजामति सेवामा प्रवेश पाउनुभएका उहाँ बिभिन्न कार्यालय प्रमु्खको जिम्मेबारी सम्हाल्दै कटारीको लगाम समात्न आइपुग्नुभएको हो ।
सेवाको पहिलो पदस्थापन जुम्लाको निर्वाचन अधिकारी, त्यसपछि ओखलढुंगाको निर्वाचन अधिकारी भएर काम गर्दैगर्दा२०७४ मा स्थानीयतह पुनर्संरचनाबाट गाउँ तथा नगरपालिकाहरु बने । नयाँ संरचनासँगै उहाँले गृहजिल्ला खोटाङको सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढीमा पहिलो प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा गर्ने मौका पाउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढीपछि खोटाङकै हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सफल जिम्मेवारी निभाईरहदा २०७८ पुस २३ गते राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)मा उहाँको स्तरोन्नति भयो । उपसचिव भएपछिको पहिलो पदस्थापन कटारीको प्रमुख प्रशासकीय अधिकृतका रुपमा भयो ।
यसअघि २ नगरपालिकाको अनुभव बटुलेर सफल प्रशासकको परिचय बनाउनुभएक किरातीलाई कटारीको अवस्थाले भने सुरुमै चिन्तित बनायो । जताततै अस्तव्यस्त र भताभुङ्गको अवस्थाको अन्त्य गर्न पहिले थिति बसाल्नेतिर उहाँको योजना बन्यो ।उहाँ आउनुअघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत १० दिन बितिसक्दासम्म हाजिर नगरी अन्यत्र सरुवा लिएपछि रिक्त ठाउँमा मन्त्रालयले उहाँलाई पठाएको थियो ।
यसअघिका नगरपालिकामा कतै नदेखेको बग्रेल्ती समस्या देखेर कटारीलाई लयमा फर्काउने चुनौति उहाँलाई आईप¥यो । ‘नगरको अवस्थाले केहीदिन त निकै रन्थनिएँ’ सुरुवाती दिन सम्झदै किरातीले भन्नुभयो ‘तर, लागी परे कसो नहोला भनेर रातदिन खट्न थालेँ, बिग्रेको सपार्ने चुनौति पनि एउटा अवसर हो भन्ने थियो ।’ धेरै बेथिति थिए, त्यसमा नगरपालिकाका ३२ सवारी साधनमध्ये २१ वटाको नवीकरण र तेस्रोपक्ष बिमा ४ वर्षदेखि नगरेको पाउनुभयो । कार्यालय सम्हाल्नेबित्तिकै यातायात कार्यालयले ‘कालो सूचीमा चढाउन लागेको’ पत्र थमाउनु उहाँका लागि ‘पहिलो गाँसमै ढुंगा’ सावित भयो । तत्काल सवारी नवीकरण र तेस्रोपक्ष बिमा गराउनुभयो । जथाभावी भईरहेको बिबिध खर्च न्यूनिकरण गर्न कुपन प्रणाली लागू गरेर मितव्ययिता अपनाउँदा अनियमित खर्च नियन्त्रण हुन थाल्यो ।
संघ, प्रदेश र आन्तरिक बजेटमार्फत निर्माणाधीन योजनाहरु सम्झौता गरेर काम नगरी अलपत्र फालिएका थिए । १० लाखभन्दा माथिका त्यस्ता योजनालाई ताकेता गर्दै प्राबिधिक टोली लिएर आफै स्थलगत निरीक्षणमा निस्किनुभयो । हाकिमको खटाईले मातहत कर्मचारी तातिए, कामले गति लियो, योजनाहरु समयमै सम्पन्न हुन थाले । अनुगमन गर्दा उहाँले चाल पाउनुभयो , यसअघि ठेकेदार, उपभोक्ता समिति र जनप्रतिनिधिको मौखिक रिपोर्टमै बिना अनु्गमन भुक्तानी हुँदै आएको रहेछ । त्यो परम्परा तत्काल रोकेर मौखिक रिपोर्ट पुष्टि गर्न अनिवार्य स्थलगत अनुमगनपछि मात्र भुक्तानी दिन थालियो । यसले योजना प्रभावकारी हुन थालेपछि नगरबासी र जनप्रतिनिधिले उहाँलाई साथ दिन थाले ।
आर्थिकवर्ष २०७५/७६ मा तत्कालीन लेखा अधिकृत रविन ढकालले ४ करोड बढी रकम अपचलन गरेर पक्राउ परेपछि कटारीको बित्तीय प्रणाली लगभग ध्वस्तजस्तै भएको थियो । तत्कालीन कार्यालय प्रमुखको हस्ताक्षर किर्ते गर्दै सामाजिक सुरक्षा र अन्य शीर्षकको ठूलो रकम आफ्नो खातामा ‘ट्रान्सफर’ गरी व्यक्तिगत कमाउधन्दामा लागेका ढकाल अख्तियारद्वारा पक्राउ गरेर मुद्धा बिचाराधीन रहेको छ । एकैचोटी ठूलो आकारको बजेट अपचलन भएपछि ‘लिक छाडेको’ नगरपालिकाको बित्तीय प्रणालीलाई यसअघिका हाकिमहरुले पनि मेसो समाउन सकेका थिएनन् । त्यसलाई सच्याउन किरातीले रातदिन मेहनेत गर्दै गएपछि बिस्तारै नगरपालिकाले लय पक्रदै गयो र ४–५ महिनाकै अन्तरालमा नगरमा उल्लेख्य सुधार भएर अहिले लय समाउँदैछ ।
नगरबोर्डले मासिक कार्यपालिका बैठकबाट निर्णय गराउनपर्ने कानुनी प्रावधान छल्दै ३÷४ महिनामा बैठक बस्ने गरेको पाएपछि उहाँले नियमित र अनिवार्य बैठकपछि मात्र बजेट परिचालनको नीति लिनुभयो । बिनियोजन नगरी राखिएको ‘अबन्डा’ बजेट बैठकमार्फत प्राथमिक्ताका आधारमा बाँडफाँड गरी प्रभावकारी कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीबीच अन्तरक्रिया गराउन थाल्नुभयो । विषयगत समिति संयोजक र शाखा प्रमुखलाई व्यक्तिगत र सामुहिक समस्या पहिचान गरी समाधान खोज्न राय संकलन कार्य थाल्नुभयो ।
नगरबासीको गुनासो सुन्ने अनि सेवा प्रवाह सहज भए नभएको प्रगति बिबरण अनिवार्य बुझाउन शाखाहरुलाई निर्देश गर्नुभयो । त्यसका लागि राय संकलन गर्न शाखा प्रमुखसँग जनप्रतिनिधि र कार्यालय प्रमुखबीच नियमित छलफलको सुरुवात भयो । प्रत्येक शाखा र मातहत कर्मचारीको टेबलमा ईन्टरकम टेलिफोन र आफ्नो कार्यकक्षमा क्लोज सर्किट क्यामेरा (सिसि टिभी) जडान गरेर निगरानी बढाउनुभयो ।

लेखा अधिकृत दिलिप श्रेष्ठका अनुसार आर्थिक वर्ष बितेको ७ महिनासम्म २० प्रतिशत बित्तीय प्रगति भईरहेका बेला हाकिम भएर आएका किरातीले कार्यकालको ५ महिनामा ८५ प्रतिशत खर्च हुने बनाउनुभयो । नयाँ हाकिमको कार्यशैलीले नगरपालिकामा एकपछि अर्को सुधार भएपछि नगरबासीले सुशासनको महसुस गर्न थालेको कटारी ३ का वडाध्यक्ष पुस्कर खड्का बताउँछन् । वडाध्यक्ष खड्काले आग्रह र पूर्वाग्रहरहित, दलीय प्रभावमा नपरी केही गरौँ, परिवर्तनको आभास गराउँ भन्ने इच्छाशक्ति भएको हाकिम भएकाले सुधारको यात्रामा नगरपालिका लागिसकेको बताउनुभयो ।
कटारी ७ का सुरेश दनुवारको भनाईमा सेवाग्राहीलाई छिटोछरितो र बिनाझन्झट काम गरिदिने हाकिमको शैलीप्रति नगरबासी अत्यन्त प्रभावित छन् । ‘यसअघि पनि धेरै हाकिमहरु आए, गए तर, उहाँजस्तो सेवाग्राहीको कुरा सुन्ने, जनमैत्री कोही देखिएन्न’ दनुवारले भन्नुभयो ‘हाकिम एक्लैले चाहे पनि धेरै परिवर्तन र सुधार हुनेरहेछ भन्ने उदाहरण अनिल किरातीले देखाए ।’
प्रमुख प्रशासकीय अधिकृत किरातीले भने आफुले त्यस्तो ठूलो केही गर्न खोजेको भई नगरबासीलाई सहज सेवा दिन र राज्यको सम्पत्ति सदुपयोग गर्न मात्र चाहेको बताउनुभयो । ‘मैले कुनै जादु गर्न खोजेको होईन, जनप्रतिनिधिभन्दा जान्ने हुन खोजेको पनि होईन’ उहाँले भन्नुभयो ‘खाली राज्यको सम्पत्तिको सक्दो सदुपयोग गरौँ, नसके दुरुपयोग नहोस् भन्ने हो, नगरबासीले सहज र सुलभ सेवा पाउनुपर्छ भन्ने मात्र हो ।’ जनमत पाएर आएका जनप्रतिनिधि नगरबासीकै सेवामा समर्मित हुनुपर्ने, कर्मचारीले पनि जनप्रतिनिधिलाई सक्दो राम्रो सल्लाह र सहयोग गर्नुपर्ने उहाँको बुझाई छ ।
मतदाता र जनप्रतिनिधिका सोझै सम्पर्कका लागि नगरपालिकाले मेयरदेखि वडाध्यक्ष र कार्यपालिका सदस्यसम्मलाई मोबाईल नम्बर र इमेलको व्यवस्था गरेर सेवाग्राहीसँग सम्पर्कको पहुँच गराउन चाहेको छ । कामको चाप हुँदा सार्वजनिक बिदा नभनि कार्यालय समयभन्दा अघिपछि पनि सेवा दिने गरेका किरातीले ठूलो हुने भन्दा एउटा असल राष्ट्रसेवक कर्मचारी भएर देश र जनताको सेवा धोको पालेको बताउनुभयो ।