जन्ताभ्वाईस सम्बाददाता
मंगलबार , ७ भदौ , २०७९
कटारी /चार कम्यूनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव कटारीमा पनि आंशिक रुपमा परेको छ । बन्दका कारण कटारीका शिक्षण संस्थाहरु बन्द भएका छन् । विहानै अध्ययनका लागि शिक्षण संस्था पुगेका कटारी बजार आसपासका शिक्षण संस्थाका विद्यार्थीहरु बन्दका कारण शिक्षण संस्था वन्द भएपछी घर फर्किएका छन् ।
आंशिक रुपमा बजार भने विहान खुलेका छन् । सवारीसाधनहरु कटारी वसपार्कबाट आंशिक रुपमा संञ्चालनमा आएका छन् । केही सवारीसाधनहरु विहानै वसपार्कबाट गन्तव्यतिर हिनेका छन् । चार कम्युनिष्ट पार्टीहरुले नेपाल बन्दलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी शुसिलले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजीविका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका विरुद्धमा संयुक्त संघर्षको दौरानमा रहेको उल्लेख गर्दै यहि भदौ ७ गते नेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि आवश्यक सहयोग गरिदिन आग्रह गर्दछौं ।’
प्रतिबन्धित चार कम्युनिस्ट पार्टीले एम सि सि सम्झौता, नेपाल कम्युनिस्ट पार्टीसग भएको ३ बुदे सहमतिको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आह्वान गरेको हो ।


जनता भ्वाइस 







