जन्ताभ्वाईस सम्बाददाता
सोमबार ,३०, साउन , २०७९
कटारी / कटारी , ३ स्थित ताराघारी महादेव गुफामा आज साउनको अन्तिम सोमबार पुजा आराधना गर्नेहरुको घुईचो लागेको छ । गुफामा कटारी र आसपासका स्थानीय निकायका अलावा छिमेकी जिल्ला सिन्धुलीको दुधौली नगरपालिकाबाट समेत दर्शनार्थीहरु आएका थिए ।
पछिल्लो समय धार्मिक पर्यटकको केन्द्र बन्दै गएको गुफामा विहान मात्रै २० हजार भन्दा बढीले पुजा आराधना गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले बताउनुभयो । गुफामा आउनेहरुको व्यवस्थापनका लागि समितिबाट स्वयंसेवकहरु खटिएका थिए ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय कटारी , कटारी नगरपालिकाको नगर प्रहरीहरुले दर्शनार्थीहरुलाई व्यवस्थापन गरेका थिए । विहान ३ बजेदेखि नै दर्शनार्थीहरु आउने गरेको व्यवस्थापन समितिले जनाएको छ ।
साउनको सवै सोमबार भीड हुने गरेको भएपनि अन्तिम सोमबार सवैभन्दा भीड बढेको स्थानीयले बताएका छन् । यहाँ पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।
पछिल्लो समय व्यवस्थापन समितिको सकृयतामा संरचनाहरु समेत निर्माण भएपछी यो गुफा आगन्तुकका लागि केन्द्र बन्दै गएको हो ।यहाँ साउने सोमबारका अलावा , वालाचर्तुदशी , ठुली एकादशी , शिवरात्री , रामनवमीमा पनि भीड लाग्ने गरेको छ ।


जनता भ्वाइस 










