जन्ताभ्वाईस सम्बाददाता
मंगलबार ,२४, साउन , २०७९
कटारी / २८ औं विश्व आदिवासी दिवश कटारीमा पनि आज भव्यताका साथ मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको आयोजना र कटारी नगरपालिकाको सहयोगमा दिवश मनाईएको हो ।
परिषदका उपाध्यक्ष वुद्धिमान तामाङ्गको सभापतित्व र संघिय सांसद शुरेस कुमार राई हिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा प्रदेश सांसद कला घले , कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ , पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठ , वर्तमान उपमेयर गिता खड्का रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सांसद राईले संविधानको अक्षरस कार्यान्वयन भएमात्र सवैले अधिकार पाउने बताउनुभयो । ‘मुलभुत रुपमा एकठाउँमा उभिएर लडाई लड्नु पर्छ ।’उहाँले भन्नुभयो —‘स्थानीय निकायले भाषामा कति बजेट छुट्यायो ? त्यसमा पनि ख्याल गर्नुपर्छ ।’
भाषा भनेको निरपेक्ष हुने भएकाले सवै भाषालाई राष्ट्रिय भाषाको रुपमा राज्य लिनुपर्ने उहाँको भनाई थियो ।त्यसैगरी प्रदेश सांसद घलेले ५१ प्रतिशत महिलाहरुले अधिकार पाउन नसकेको बताउँदै आदिवासी जनजाति भित्रका महिलाहरुलाई पनि अधिकार दिलाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी मेयर राजेशचन्द्र श्रेष्ठले जवसम्म मानव विकास गर्न सकिन्दैन तवसम्म विकास सम्भव नभएको बताउनुभयो । सत्तामा वस्नेहरुबाट अधिकार कुण्ठित भएसम्म देश समृद्ध नहुने बताउनुभयो । यस वर्ष बजेट अभावका कारण आदिवासी जनजातिको क्षेत्रमा कार्यक्रम बनाउन नसकेको र आगामी वर्षदेखि आदिवासी जनजातिहरुको क्षेत्रमा पनि बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति महासंघको भवनको माथिल्लो तला थप्न नगर जिम्मेवार रहने बताउनुभयो ।
त्यसैगरी पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले आप्mनो कार्यकालमा आदिवासी जनजातिको क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले साकेला थान , बौद्ध गुम्वा , भिमसेन मन्दिर जस्ता निर्माणहरु आदिवासी जनजातिका लागि आप्mनो कार्यकालमा निर्माण गरेको बताउनुभयो ।
त्यस्तै उपमेयर गिता खड्काले नगरपालिकाले सवैलाई एउटै आँखाले हेर्ने र भेदभाव नगर्ने बताउनुभयो । बुद्धिजिवि कुमारसिंह राईले भोट माग्दा जनजाति भनेर माग्नेहरुले संसदमा पार्टीको उर्दी मान्दा जनजातिहरुले अधिकार नपाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्य दिंदै जनता समाजवादी पार्टीका दिपक माझीले महासंघको तला थप्नका लागि जनप्रतिनिधिहरुले ध्यान नदिएको बताउनुभयो ।
कार्यक्रममा माझी , राई , नेवार , तामाङ्ग समुदायले झाँकी प्रदर्शन गरेका थिए । रविना अधिकारी दनुवारको नृत्य र गायन पनि कार्यक्रममा थियो । कार्यक्रम परिषदका सचिव पदम राईले संञ्चालन गर्नुभएको थियो । कार्यक्रमको सुरुहुनुअघि वृहत र्यालीले कटारी बजार परिक्रमा गरेको थियो ।


जनता भ्वाइस 







