–ऋषि राई
शुक्रबार ,२०, साउन , २०७९
कटारी / महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/७८को प्रतिवेदन २०७९ सार्वजनिक गरेपछी उदयपुरमा सवैभन्दा बढी वेरुजु कटारी नगरपालिकामा देखियो । महालेखाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा उदयपुरमा सवैभन्दा बढी कटारी नगरपालिकामा ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत बेरुजु पुगेको हो ।
यस अघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो । बेरुजु घटाउनेवेलामा झनै बढाउनुले कटारी नगरपालिकामा अनियमितताको पराकाष्ठा छ भन्ने प्रष्ट छ ।यसरी अनियमितता र बेरुजु के के मा हुन्छ भन्ने खोजि गर्दा नगरमा उपभोक्ता समितिले जिम्मा लिएको काम निर्माण व्यवसायीलाई दिंदा पनि करोडबढी बेरुजु भएको पाईयो । नगरमा उपभोक्ता समिति पनि जनप्रतिनिधि र कर्मचारीसँग कमिसनमा मिलेर काम गर्ने व्यवसायिक छन् भन्ने चोकमा हुने गफलाई यो प्रतिवेदनले मज्जाले पुष्टि गरेको छ ।
प्रतिवेदनको ५३ क्रमसंख्यामा उपभोक्ता समितिलाई दिइएको काम निर्माण व्यवसायीलाई दिईएको शिर्षकमा १ करोड २६ लाख ५ हजार ४ सय ९३ बेरुजु देखाएको छ । जसमा उल्लेख गरिएको छ ‘सावजिनक खरिद नयमावली, २०६४ को नियम ९७.१३(क) मा उपभोक्ता समितिले गरेको कुनै काम निर्माण व्यवसायीबाट गराएको पाईएमा सार्वजनिक निकायले उपभोक्ता सिमितसँगको सझौता रद्द गर्नु पर्ने उल्लेख छ । ’ प्रतिवेदन अनुसार —‘लेखापरीक्षणका क्रममा नमूना छनोट गरी हेर्दा देहायका ग्रामीण सडक निर्माण गर्न सम्झौता गरेका उपभोक्ता समितिहरुले सडक निर्माणको काम निर्माण यवसायीमार्फत गर्ने गरेकोदेखएकोले अनयिमत देखिएको ’यसरी प्रतिवेदनमा अनियमित देखिएको उल्लेख गरेसँगै अनियमितता गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीहरुको नाम र रकम समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जस अनुसार कटारी दोस्रो लाईन फुटपाथ र नाला निर्माण उपभोक्ता समितिले रिपब्लिकन कन्ट्रक्सन मार्पmत गराएको पाईएको छ ।
त्यसैगरी चुहाडेदेखि बाँकेटारसम्म ग्रावेलबाटो उपभोक्ता निर्माण समितिले उदयपुर लामा कन्ट्रक्सन , खमारे बाटो निर्माण उपभोक्ता समितिले प्रिन्स कन्ट्रक्सन एण्ड सप्लायर्स ,मोटरवाटो मर्मत तथा सरसफाई उपभोक्ता समिति कटारी १० ले डिसी कन्ट्रक्सन ,सडक मर्मत र डगर सुधार उपभोक्ता समिति कटारी ६ ले डुम्रेटार कन्ट्रक्सन ,सडक मर्मत उपभोक्ता समिति कटारी ९ ले नविता एण्ड लोप्चन कन्ट्रक्सन ,खेलमैदान उपभोक्ता निर्माण योजना समितिले कटारी १४ले आशाकिरण कन्ट्रक्सन र भोक्टेनी भञ्ज्याँगबाट ढाडे बतासे चिउरीवोट सडक निर्माण उपभोक्ता समिति कटारी १३ ले चुलीथाम कन्ट्रक्सनलाई काम लगाउँदा १ करोड २६ लाख ५ हजार ४ सय ९३ बेरुजु निस्किएको हो ।
यसरी उपभोक्ता समितिले जिम्मा लिएर ठेकेदारसँगको मिलेमतोमा गरिएको कामले पनि नगरलाई बेरुजु बढाएको देखिन्छ । यसलाई नियन्त्रण गर्नुपर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुले नै कमिसनमा नजिकको ठेकेदार कम्पनीलाई कमिसनमा काम गर्न दिने प्रवृद्धि मौलाएको देखिन्छ ।


जनता भ्वाइस 









