images
images

सहयोग उठाएर फुटवल टुर्नामेन्टको तयारी ,कहाँगयो खेलकुदको बजेट , गाईगोरु चर्छन टाईगर फिल्डमा

  • ऋषि राई
    १० साउन , मंगलबार , २०७९

कटारी / एकवर्षअघिदेखि खेलकुद गतिविधि शून्य भएपछी कटारीका फुटबल खेलाडीको टिमले नकआउन फुटवल प्रतियोगिताको तयारी गरेका छन् ।कटारी खुल्ला फुटबल टुर्नामेन्टका लागि भोलि सम्म टिम दर्ता गर्ने समय छ ।
कटारी आसपास दुधौली सम्मका टिमले प्रतिष्पर्धा गर्दैछन् । ‘१८ टिमले दर्ता गरिसके ’कटारी फुटबल टिम क्याप्टेन गोपाल लिम्बुले भन्नुभयो —‘अव २ टिम दर्ता गरेर २० टिमलाई खेलाउने तयारीम छौं ।’
आगामी साउन १४ गतेदेखि सुरु हुने खुल्ला टुर्नामेन्टका लागि आर्थिक जोहो भने उनीहरुले सहयोग संकलनबाट नै गरेका छन् ।‘फुटबलप्रेमीहरुले सहयोग गरेका छन् , यसपटक यहि सहयोगबाट खेल खेलाउने तयारीमा छौं ’क्याप्टेन लिम्बुले भन्नुभयो —‘नगरमा पछी खेलकुद विकास समिति गठन गरेर प्रतियोगिताहरु आयोजना गर्ने कुरा छ क्यारे , यो चाहिं हामी आपैmले सहयोग उठाएर नै गर्न लागेका हौं ।’
सहयोगीहरुको सहयोग रकम उनीहरुले सहयोगीहरुको फोटो सहित कटारी फुटबल क्लबको फेसबुक पेजमा राखेका छन् । जस अनुसार धेरै खेलप्रेमीहरुले कटारीमा खेलकुदका लागि सहयोग गरेको देखिन्छ ।
जसमा प्रथम नगद पुरस्कार बराबरको रकम ३० हजार उदयपुर लामा कन्ट्रक्सनका प्रोपाईटर अम्बर लामाले सहयोग उपलब्ध गराउँदा दोस्रो नगद पुरस्कार बराबरको २० हजार कटारी युवा राजनीतिकर्मी तथा समाजसेवी जिवनाथ दाहालले सहयोग गरेका छन् ।
अन्य थुप्रै युवाले सहयोग गर्ने क्रम जारी छ ।विजेता टिमले शिल्ड , मेडल र प्रमाण पत्र पाउँदा उत्कृष्ट , गोलकर्ता , गोलरक्षक डिफेन्डर , मिडफिल्डर , उत्कृष्ट खेलाडी , प्रत्येक खेलका म्यान अफ द म्याचले समेत नगद पाउनेछन् ।
एकवर्षअघि तेस्रो कटारी मेयर कप फुटबल सम्पन्न भएपछी कटारी स्थित टाईगर फिल्डमा फुटबलको प्रतियोगिताजन्य चलखेल शून्य छ । टाईगर फिल्ड कटारीमा २०७१सालमा देशभरको गोल्डकपको माहोल बनेको समयमा सुरुवात भएको प्रथम कटारी गोल्डकपले दोस्रो गोल्डकप २०७२ फागुन ४ देखि १३ पछी सुरुवाति चरणमा जस्तो लय समात्न सकेन।
विस्तारै स्थानीय सरकारपछी कटारीको खेलकुदमा मेयर कप जोडिन थाल्यो त्यसपछी सवै विधाका खेलहरुमा मेयर कपहरु आयोजना भयो । यसवीचको गोल्डकपहुँदै , मेयरकपको निरन्तरतासम्म आईपुग्दा कटारीको खेलकुदमा करोडबढी लगानी भएपनि उपलब्धि खासै भएको देखिन्दैन् ।

टाईगर फिल्डको रुप उस्तै


गोल्डकप , मेयर कप र थुप्रै प्रतियोगिताहरु धानेको टाईगर फिल्ड अहिले पनि गाइवस्तु चराउने थलो छ । वर्षेनी प्रतियोगिताका समयमा अस्थायी वेराघेराहरु भए तरपनि यसमा दिर्घकालिन रंकशालाको विकास भएको छैन् ।
लामो समय कटारीको मेयर कप फुटबलको जिम्मा साथी समूह कटारीले लियो । प्रतियोगिताहरु भए तर दिगो प्रशिक्षक प्रशिक्षकको अभाव खेलमा नियमितता गर्न नसक्दा कटारीले राष्ट्रिय लिगहरुमा भनेजस्तो सफलता पाउन सकेन ।
साथी समूहका सदस्य राजकुमार थापाले २०७८ सालमा कुनै पनि खेलकुदको गतिविधिहरु हुन नसकेको बताउनुभयो ।‘२०७८मा प्याराफिटमा लगानी भयो ’उहाँले भन्नुभयो —‘४५ लाखको प्याराफिट बनेको छ ।’
कटारीका युवाहरुमा जहिले पनि फुटबल प्रतिको क्रेज कायम छ ।सामान्य प्रतियोगितामा समेत टाईगर फिल्डमा दर्शकहरुको घुईचो लाग्छ । तर कटारीमा आजसम्म वृहत रंगशालाको रुपमा राष्ट्रिय प्रतियोगिताहरु हुन सकेका छैनन् ।वर्षेनी खेलकुदमा बजेटहरु छुट्टिएपनि संन्तोषजनक प्रगति नदेखिएको खेलप्रेमीहरु बताउँछन् ।
चालु आर्थिक वर्ष २०७९ । ८०मा पनि नगरपालिकाबाट खेल क्षेत्रमा खेलकुद कार्यक्रम शिर्षकमा २० लाख बजेट छुट्टिएको छ । यता खेलप्रेमीहरु भने सहयोग उठाएर प्रतियोगिता आयोजनाको तयारीमा जुटेका छन् ।