ताराघारी खहरेमा पुल निर्माणका लागि अध्ययन सुरु । तस्बिर सौजन्य /प्रेम थापा
जन्ताभ्वाईस सम्बाददाता
१५ , असार , बुधबार , २०७९
कटारी / सिद्धिचरण राजमार्गमा कटारी–मिर्चैया सडकखण्ड अन्र्तगतका कटारी २ को खोक्सा , सिमानपुर , गिद्धाबर र कटारी ३ को ताराघारी खहरेमा ३ वर्षभित्रमा पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि ठेक्का प्रकृया पुरा भई सूर्य एण्ड सन्स कम्पनी धरान सुनसरीले आधिकारिक रुपमा काम थालेको कटारी नगरपालिकाका प्रवक्ता प्रेम थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार ताराघारी खहरेमा ८० मिटर ,गिद्धाबर खहरेमा ७० मिटर ,सिमानपुर र खोक्सा खहरेमा पचास पचास मिटर लम्बाईको पुल निर्माण हुनेछ ।‘तीनमहिना भित्रमा पुलको डिजाईन तयार भईसक्ने रहेछ ।’थापाले भन्नुभयो –‘दररेट कायम गरी आधिकारिक रुपमा कम्पनीले काम थालेको छ ।’
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सडक विभागको पुल निर्माण शाखाले उक्त खहरेहरुमा पुल निर्माणका लागि ठेक्का आव्हान गरेको थियो ।
यस अघि कटारी नगरपालिकाले गएको माघ ३ गते पुल महाशाखा बबरमहल काठमाडौंलाई पुलको योजनामा माग गरेको थियो ।उक्त खहरे खोलाहरुमा वर्षामा सवारी साधनहरु आउजाउ गर्न समस्या भएकाले पुल निर्माणको माग गरिएको थियो ।
उक्त खहरे खोलाहरुमा पुल नहुँदा वर्षेनी यस राजमार्गमा आउजाउ गर्ने सवारीसाधनहरु तथा स्थानीयहरुले समस्या भोग्नु परिरहेको छ ।


जनता भ्वाइस 







