जन्ताभ्वाईस सम्बाददाता
०८ , असार , बुधबार , २०७९
उदयपुर /नेपाल मानब अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखिकरण गरिएका मानब अधिकार उल्लंघन तथा ज्यादतिका घटनाहरुको उदयपुरमा मंगलबार समिक्षा गरिएको छ । सन २०२२ को जनवरी देखि जुन १५ सम्मका ३८ घटना अभिलेख भएको इन्सेक प्रतिनिधी सुजाता ढुंगानाले बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधीले प्रस्तुत गर्नु भएको अभिलेखिकरण अनुसार जिल्लामा पछिल्लो ६ महिनामा बलात्कारका घटनाहरु बढि घटेका छन् । १० बलात्कारका घटनामा ८ जना बालिका पीडित भएको अभिलेखमा उल्लेख छ भने ६ वटा हत्याका घटनाहरु छन् । त्यस्तै ३ वटा बालिका माथि यौन दुव्र्यवहारका घटना छन् भने ६ वटा घरेलु हिंसा र ६ वटा बहुविवाहका घटना भएका छन् । यो ६ महिनाको अवधिमा राज्यका तर्फबाट १ गैरन्यायीक हत्याका घटना अभिलेखीकरणमा प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
उदयपुरमा अभिलेखीकरण भएका मानब अधिकार उल्लंघनका घटनामा सामाजिक, आर्थिक, सांस्कृतीक तथा राजनीतिक अधिकार उल्लंघनका घटनाहरु पनि अभिलेखीकरण हुनु पर्नेमा कार्यक्रममा सहभागि अधिकारकर्मीहरुले सुझाब दिएका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गठबन्धनका नाममा संविधान प्रदान गरेको महिलाको राजनीतिक अधिकारबाट महिलाहरु वञ्चीत हुनु पर्ने अबस्था आएको भन्दै यस्ता कुराहरु पनि प्रतिबेदनमा समाबेश गर्न सुझाब दिएका छन् ।


जनता भ्वाइस 







