जन्ताभ्वाईस सम्बाददाता
१६ , जेठ , सोमबार , २०७९
कटारी । कटारी नगरपालिकामा निर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्काले आज दिउँसो पदभार ग्रहण गरेका छन् । पदवहाली ग्रहण गर्दै मेयर श्रेष्ठले नगरको सेवा प्रवाहलाई पारदर्शी , मितव्ययी , जनमुखी , तथा सेवाग्राही मैत्री बनाउँदै नगरलाई प्रविधि मैत्री बनाउने निर्णय गर्नुभयो ।
त्यसैगरी नगरप्रमुखको हैसियतमा प्राप्त गर्ने आर्थिक सेवा सुविधालाई कोष स्थापना गरी नगरका अति विपन्न नागरिकहरुको स्वास्थ्य तथा शिक्षामा खर्च गर्ने पहिलो निर्णय समेत गर्नुभयो । मेयर श्रेष्ठले पदभार ग्रहण गर्दै पक्षपात नगर्ने बताउनुभयो । ‘सम्पूर्ण अनियमितताको अन्त्य होस र शुसासन कायम होस ।’उहाँले भन्नुभयो –‘हामी सवै जनप्रतिनिधिहरु जुन पार्टीबाट आएपनि सवै वडाको जनताको हामी अभिभावक हो त्यसैले समग्र नगरको विकासका लागि लाग्नेछौं ।’
त्यसैगरी उपमेयर गिता खड्काले नगरमा शासक नभई सेवक भएर काम गर्ने बताउनुभयो । ‘उपमेयरसँग महिला कार्यक्रम संञ्चालन गरी महिलाको क्षेत्रमा काम गर्छु ’उहाँले भन्नुभयो –‘वडागत हिसाबका वडाको समस्या पहिचान गरी काम गर्छू ।’मेयर श्रेष्ठले पदभार ग्रहण गरी कटारीबाट निर्वाचित वडाध्यक्षहरु तथा वडासदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल किराती लगायतका कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई स्वागत गरेका थिए । अधिकृत किरातीले नगरमा हार्दिक स्वागत गर्दै जनप्रतिनिधिहरुलाई पदवहालीका लागि अनुरोध गर्नुभएको थियो । श्रेष्ठ गठबन्धनबाट काँग्रेस र खड्का नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।


जनता भ्वाइस 







