जन्ताभ्वाईस सम्बाददाता
११ , जेठ ,बुधबार , २०७९
कटारी । गएको वैशाख ३० मा सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनबाट कटारीको मेयरमा काँग्रेस माओवादी गठबन्धनबाट उमेद्वार बन्नुभएका काँग्रेसका राजेशचन्द्र श्रेष्ठ मेयरमा निर्वाचित हुनुभएको छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेका गिता खड्का निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न मतगणनाको नतिजाअनुसार श्रेष्ठले ४६५ मतान्तरका साथ ६ हजार ४ सय १७ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका कृष्णप्रसाद बराल (केपी बराल)ले ५ हजार ९सय ५२ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाउनुभएको थियो भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गर्नुभयो । त्यस्तै मेयरमा स्वतन्त्र उमेद्वारी दिनुभएका निवर्तमान उपप्रमुख भिमकुमारी राउतले ४ सय ४२ मत मात्रै पाउनुभयो ।
नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित हुनुभयो । उहाँले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदयबहादुर तामाङले ३ हजार ७ सय २३ मत प्राप्त गनुृभयो भने अर्का स्वतन्त्र उम्मेदवार कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
१४ वडा रहेको कटारी नगरपालिकामा ७ वटा वडामा वडाध्यक्ष नेकपा एमाले निर्वाचित भएको छ भने ३ वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ । एकीकृत समाजवादी १, माओवादी केन्द्र १ र स्वतन्त्रमा २ वडा अध्यक्ष निर्वाचित भएका छन् ।
कटारी नगरपालिका–१ मा एमालेका पदमलाल मगर, २ मा काग्रेसका प्रेमबहादुर क्षेत्री, ३ मा कांग्रेसका पुष्कर खड्का, ४ मा स्वतन्त्र भुपेन्द्रसिंह तामाङ, ५ मा एमालेका मोहनकुमार तामाङ, ६ मा एमालेका प्रेमबहादुर मगर, ७ मा काग्रेसका सुविन ढुंगाना, ८ मा स्वतन्त्र नविनकुमार तामाङ, ९ मा एकीकृत समाजवादीका बेदबहादुर आले मगर, १० मा एमालेका क्षेत्रबहादुर खड्का, ११ मा एमालेका अनन्त हायु, १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, १३ मा एमालेका शम्भु श्रेष्ठ र १४ नम्बर वडामा नेकपा एमालेका अम्बरबहादुर मगर निर्वाचित भएका हुन ।


जनता भ्वाइस 







