images
images

कटारीको मतगणना सुरु हुन सकेन ,छानविन आयोग गठनपश्चात सुरु गर्ने प्रस्ताव , सर्वदलिय वैठक जारी

-ऋषि राई
२ , जेठ ,सोमबार , २०७९
कटारी / कटारी नगरपालिकाको मतगणना आज पनि नहुने सम्भावना बढेको छ । स्थानीय निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार अहिले सर्वदलिय वैठक वसिरहेको छ ।
वैठकमा दलहरुले कटारी १० सोरुङ्गको घटनाका विषयमा भएको निर्णय बमोजिम छानविन आयोग गठनपश्चात मात्रै मतगणना सुरु गर्ने प्रस्ताव सारेका छन् ।‘अहिले निर्णय हुन बाँकी छ । ’उहाँले भन्नुभयो –‘अहिले वैठक वसिरहेको छ ।’
मतदानका दिन मतदान सकिएपछी शुक्रबार सोरुङ्गमा भएको विवादमा प्रहरीले गोली चलाउँदा स्थानीय युवा वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो । शनिबार स्थानीय निर्वाचन अधिकृतको कार्यालय कटारीमा प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादब , प्रहरी उपरिक्षक सुवासचन्द्र वोहोरा , सहायक जिल्ला अधिकारी विनोद कुमार पोखरेल लगायतका जिल्लाका सुरक्षा निकायका प्रमुखहरु राजनैतिक दलका प्रतिनिधिहरु , नगरका उमेद्वारहरुको दिनभरीको वैठकले गरेको निर्णय पश्चात आईतबार मतपेटिकाहरु ल्याईएको थियो।
वैठकले उच्चस्तरीय छानविन आयोग गठन गरी दोषिलाई निलम्बन लगायतका कार्वाही लेखि पठाउने ,मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने , मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायलाई लेखि पठाउने घाईतेलाई सम्पूर्ण उपचार क्षतिपूर्ति नेपाल सरकारलाई उपलब्ध गराउन लेखि पठाउने निर्णय भएको थियो । सोही वैठक बमोजिमको निर्णयलाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारी सहित जिल्लाको सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो ।
आईतबार दिउँसो जिल्ला अधिकारी सहितको टोली र स्थानीयको छलफलबाट निर्णय बमोजिमको प्रकृया सुरु गर्ने सहमति पश्चात शव पोष्टमार्टमका लागि कटारी अस्पत्ताल र मतपेटिका मतगणस्थल ल्याएको थियो । १४ वर्षिय मोहनबहादुर श्रेष्ठ घाईते भएका थिए ।
अन्य स्थानीय निर्वाचनको परिणामहरु सार्वजनिक भईरहँदा कटारीमा पनि मतगणना समेत सुरु हुन सकेको छैन् । मत दिएको ४ दिनहुँदा समेत मतगणनाको प्रकृया सुरु नहुँदा मतदाताहरुमा छटपटी बढेको छ ।