images
images

कटारीमा एमालेको ‘आक्रामक’ प्रचार,पार्टी प्रवेशको लहर

जन्ताभ्वाइस सम्बाददाता
१८ बैशाख २०७९, आइतबार

कटारी / व्यापक जनलहरसहित कटारी नगरपालिकामा नेकपा एमालेले चुनावी प्रचारलाई ‘आक्रामक’ बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै कटारीका सबै वडामा एमालेका उम्मेदवारहरु ‘आक्रामक’ प्रचारसहित घरदैलो अभिायनमा निस्किएका छन् ।

एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई मेयर र गीता खड्कालाई उपमेयरको उम्मेदवार बनाएको छ । कटारी नगरपालिकाको समग्र विकासका योजनाकार र विकासप्रेमी नेता भएकै कारण श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ भने लामो समयदेखि महिला आन्दोलनमा सक्रिय गीता खड्का लाई उपमेयरको उम्मेदवार बनाएको छ ।

विकासप्रेमी नेता भएकै कारण कटारी नगरपालिकामा एमाले उम्मेदवारको विकल्प नभएको स्थानीय मतदाताहरु बताउँछन् । नगरपालिकाको अधिकांश वडामा एमालेले बलिया र विकासप्रेमी युवाहरुलाई उम्मेदवार बनाएको छ । एमालेले कटारी–५ बाट वडाध्यक्षका रुपमा विकासप्रेमी युवा मोहन तामागंलाई उम्मेदवार बनाएको छ ।

कटारीमा एमाले उम्मेदवारहरु गत पाँच बर्षमा नगरपालिकामा गरेका समग्र कामहरुको समिक्षासहित प्रचार अभियानलाई तीव्र र आक्रामक बनाउँदै घरदैलो अभियान चलाइरहेका छन् । घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार श्रेष्ठले केही योजनाहरु अधुरै रहेकाले ती योजनाहरुलाई सम्पन्न गरेर कटारीलाई नमुना नगरपालिका बनाउन पुनः उम्मेदवारी दिएको बताउनु भयो ।

उहाँले समृद्ध नगरपालिका बनाउनकै लागि एमालेसँग धेरै योजना रहेकोले एमालेलाई सुर्य चिन्हमा मतदान गरि कटारीका जनताले चाहेजस्तो समृद्धिको सपना पुरा हुने बताउनु भयो । कटारीमा एमाले उम्मेदवारहरू आफ्ना पार्टीका एजेण्डासँगै गाउँठाउँ अनुसारका समस्याहरूको समाधानका लागि विश्वास दिलाउँदै प्रचारप्रसार गरिरहेका छन् ।

एमालेकै तर्फबाट कटारी नगरपालिकाका उपमेयरका उम्मेदवार गीता खड्काले पछिल्ला दिनहरुमा एमालेप्रति जनताको विश्वास ह्वात्तै बढेकोले कटारी नगरपालिकालाई विगतमा भन्दा अझै उत्कृष्ट र नमूना पालिकाका रुपमा विकास गर्न आफुहरु प्रतिवद्ध रहेकाले मतदाताहरुसँग सुर्य चिह्नमै मतदान गर्न आह्वान गर्नुभएको छ । अहिले कटारीको पहाडी वडाहरुमा घरदैलो अभियान तीव्र बनाइएको कटारी नगरकमिटीका अध्यक्ष संजीव कार्कीको भनाई छ । कार्कीका अनुसार कटारी वडा नम्बर १० मा भएको घरदैलो कार्यक्रममा माओवादी र कांग्रेस पार्टी परित्याग गरी ३९ जनाले नेकपा एमाले प्रवेश गरेका छन् ।

‘हामीहरु तालिका बनै बनाएर घरदैलोमा निस्किरहेका छौं,’ कटारी–५ का वडाध्यक्षका उम्मेदवार मोहन तामागंले भने, ‘वडाभित्रका सबै टोलटोलमा घरदैलो कार्यक्रम गरिरहेका छौं । अहिले हाम्रो वडा मात्रै नभएर पालिकानै एमालेमय भएको छ ।’ चुनावी प्रचारप्रसारका कामहरु युद्धस्तरमा भइरहेको तामागंको भनाई छ ।
वडाध्यक्षका उम्मेदवार तामागंले आफ्नो जित सुनिश्चित भएको दावी समेत गर्नुभएको छ । उहाँले आफू निर्वाचित भएपछि वडाध्यक्षको रुपमा पाउने सरकारी सेवा सुविधालाई वडाबासीको शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि लगायतका सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।