images
images

स्थानीय निर्वाचन २०७९ – कटारीमा बागी नै बागी

-ऋषि राई
१३ , बैशाख ,मंगलबार , २०७९

कटारी / आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता प्रकृया सम्पन्न हुँदा सम्म कटारी नगरको स्थानीय तहमा बागी उमेद्वारले उमेद्वारी दर्ता गराएका छन् । एमालेबाट मेयरमा ज्ञानेन्द्र श्रेष्ठले फेरी मेयरको टिकट पाएपछी मनोनयनको पहिलो दिन नै एमालेकै पूर्व उपमेयर भिमकुमारी राउतले बागी उमेद्वारी दिनुभयो ।
पार्टीले उपेक्षा गरेपछी विद्रोह गर्नुपरेको उहाँको भनाई थियो । बागी उमेद्वारी दिने प्रकृया मनोनयनको दोस्रो अर्थात अन्तिम दिन पनि जारी रह्यो । सत्तागठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रले मेयरमा काँग्रेसबाट राजेशचन्द्र श्रेष्ठ र उपमेयरमा माओवादीबाट विनोद कटुवाल दिवशको उमेद्वारी मनोनयन गर्नु अघि नै माओवादीका नेता केपी बरालले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराउनुभयो ।
बराल गएको स्थानीय तहको निर्वाचनमा कटारी नगरपालिकामा मेयरमा पराजित हुनुभएको थियो । त्यतिमात्रै होईन सत्ता गठबन्धनकै नेपाली काँग्रेसका उदयपुर क्षेत्र नम्बर २ को ख का सभापति कृष्ण थापाले सामाजिक संञ्जालमा स्वतन्त्र रहेको घोषणा गर्दै स्वतन्त्रमा उपमेयरको उमेद्वारी मनोनयन दर्ता गराउनुभएको जानकारी दिईसक्नुभएको छ ।
राउत , बराल र थापाको उमेद्वारीलाई कटारीमा महत्वपूर्ण रुपमा हेरिएको छ ।एमालेका पुराना र कृयाशिल तथा उपमेयरहुँदा नगरलाई समय दिएर काम गर्नुभएका राउतले एमाले विरुद्ध नै वागी उमेद्वार दिनुभएको छ । त्यसैगरी बराल र थापा कटारीका परिचित राजनीतिज्ञ हुन् ।
बराल पनि राजनीतिका कृयाशिल र योगदान पुराएका नेता हुनुहुन्छ भने गएको स्थानीय निर्वाचनको पराजित उमेद्वार पनि हुनुहुन्छ । त्यस्तै कृष्ण थापा एमाले छाडेर काँग्रेस प्रवेश गरी काँग्रेसको महाधिवेसनमा पनि २ को ख मा प्रदेश सभा सभापति निर्वाचित हुनुहुन्छ ।
काँग्रेससँगै अन्य पार्टीमा पनि उहाँको चर्चा चल्ने गरेको छ । बराललाई मनोनयन दर्ता प्रकृयामा नै माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले वामगठबन्धनको उमेद्वार भएकाले मेयरमा भोट दिन आग्रह गरिसक्नुभएको छ ।
एमालेमा एमालेकै बागी र गठबन्धनमा गठबन्धन दलकै बागीका वीचमा निर्वाचनको परिणाम कसको बलियो छ त्यो आकंलन गर्न नसकिने अवस्थामा पुगेको छ ।
त्यसैगरी वडा तहमा पनि बागी उमेद्वार छन् । वडा नम्बर ४ मा एमालेबाट चिनवीर दनुवारले उमेद्वारी पाउँदा एमालेकै वडा समितिका अध्यक्ष भुपेस तामाङ्गले स्वतन्त्रमा अध्यक्षमा उमेद्वारी मनोनयन गराउनुभएको छ । वडा नम्बर ४ मा गठबन्धनले माओवादीका मुना कटुवाललाई उमेद्वार बनाउँदा काँग्रेसका गोपी पराजुलीले स्वतन्त्रमा वडाअध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।
वडा नम्बर २ मा गठबन्धनबाट काँग्रेसका प्रेम थापा उमेद्वार बन्दा सरस्वती गुरुङ्गले वडाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिनुभएको छ । गूरुङ्ग पनि बलियो उमेद्वारको रुपमा रहेको स्थानीय बताउँछन् । त्यसैगरी कटारी ११ मा एमालेले अनन्त हायुलाई वडाध्यक्षको उमेद्वार बनाउँदा एमालेकै संञ्जिव वस्नेतले वागीमा वडाध्यक्षमा उमेद्वारी दिनुभएको छ ।
असन्तुष्टहरुले विद्रोह गर्दै वागीमा धमाधम उमेद्वारी दर्ता गराएपछी अव कसको उमेद्वारी अन्तिमसम्म रहन्छ र कसकसले कुन कुन रणनीति अपनाउँछन हेर्न बाँकी छ तथापि कटारीमा दर्ता गराएका उमेद्वारहरुले कटारीको विकास र समृद्धिका लागि यहि गर्छु भन्ने स्पष्ट खाका भने सार्वजनिक गर्न सकेका छैनन् ।
जनप्रतिनिधि बन्ने आकर्षणले मात्रै उमेद्वार बन्ने दौड चलेको देखिन्छ । जनताका माझमा कस्तो कार्यक्रम ल्याउँछन र मन जित्छन् त्यो भने हेर्न बाँकी छ । वडा तहदेखि नगर तहसम्म दोहोराएर उमेद्वार बनेकाहरुको कामको समिक्षा पनि गर्न बाँकी छ भने उनीहरुले यो यो काम गरेको र अव यो गर्न बाँकी छ भनेर सम्म जनतालाई भन्न र सार्वजनिक गर्न सकेका छैनन् ।