images
images

आज नयाँ वर्षको पहिलो दिन , ताप्ली पोखरीमा विशेष कार्यक्रम

जन्ताभ्वाईस सम्बाददाता
१ , बैशाख ,बिहिबार , २०७९
कटारी/ आज विक्रम सम्वत २०७९ को पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
आजदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । आज दिनभरि सबैतिर शुभकामना आदानप्रदानको कार्यक्रम भइरहन्छ ।सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
नयाँ वर्षकै अवसरमा उदयपुरको ताप्ली गाउँपालिकामा रहेको ताप्ली पोखरीमा आज विशेष रुपमा नयाँ वर्ष मनाईन्छ । कटारी नगरपालिकाबाट सिद्धिचरण राजमार्ग हुँदै चार–पाँच घण्टाको यात्रापछि ताप्ली पोखरी पुगिन्छ । यो पोखरीले प्राकृतिक सौन्दर्य, धार्मिक गाथा एवं पर्यटकीय महत्त्व समेटेको छ । समुद्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहे पनि यो पोखरीमा वर्षैभरि पानी रहन्छ । यो पोखरीबाट सगरमाथासम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पुग्छन् । ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो यो पोखरीको गहिराइ ३ मिटर छ । तुसारो परिरहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । यो मन्दिरमा नयाँ वर्षका दिन पूजा–आराधना गर्नाले रोगव्याधि निको हुने जनविश्वास छ । यही पोखरीको नाममा ताप्ली गाउँपालिकाको नामांकन गरिएको हो । आज पनि यहाँ विशेष कार्यक्रमको आयोजना गरिन्दैछ । कार्यक्रममा गायक विनोद दनुवार , प्रियजन राई , हाँस्य कलाकार दिलिप तामा (हुरहुर)लगायतले प्रस्तुती दिनेछन् ।