–‘अज्ञात ’ऋषि राई
ऊ त्यहाँ निगुरो बेचीरहेका छन्
पहाडबाट झरेकी काकीहरु
त्यहाँबाट उठाउनुहोस अलिकति कर
अनि बनाउनुहोस पालिकाको ठूलो भवन
र ,
देखाईदिनुहोस पुरै पालिका समृद्ध बनाउने रहर ।
मधेसको गर्मीमा रामभजनहरुले
किस्तामा अटो रिक्सा किनेर कुदाईरहेछन्
उनीहरुबाट पनि लिनुहोस सडकमा कुदेको कर
निर्माण गर्नुहोस मूख्यमन्त्रीको कार्यालय
र ,
देखाईदिनुहोस पुरै प्रदेश समृद्ध बनाउने रहर ।
आज मात्रै विमानस्थलमा खाडीबाट
आएका रहेछन् वीस थान बाकसमा लासहरु
त्यहाँबाट झनै उठाउनुहोस एकमुष्ट ठूलो कर
अनि फेर्दिनुहोस शितल निवासको कार्पेट
र ,देखाईदिनुहोस पुरै देश समृद्ध बनाउने रहर ।
अन्तिम आग्रह ः
हरेक जनताको पसिनाको गन्धगन्धमा
उठाउनुहोस कर , देखाउनुहोस रहर
हामी ढुक्क छौं , भ्रष्टाचारीलाई नचिन्ने सरकारले
पक्कापनि जोड्ने छैन् , कमिसन ।।
कटारी , उदयपुर
लेखन समय , जेठ , ५ , २०७७


जनता भ्वाइस 








