images
images

(विचार ) समाज रुपान्तरणको शुभारम्भ आजै आफैबाट गरिनुपर्छ

– रविन राउत
कटारी नगरपालिका –११ , हर्देनी

समाज रूपान्तरण गर्नु छ शुभारम्भ आजैबाट अनि आफैबाट गरिनु पर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका अतुलनीय रहन्छ । यहि प्रतिबद्धताका साथ लागि पर्ने हो भने पक्कै पनि समाज र राष्ट्र विकासतर्फ लम्कन सम्भव होला । नत्र भने जति यसको बारेमा चर्चा परिचर्चा गरे पनि बेकार हुन्छ। त्यसैले वर्तमान परिस्थितिलाई जो कोहीले पनि सामना गर्न सिक्नु पर्छ ।
समाज अहिले परिवर्तनको प्रभावबाट गुज्रिरहेको छ । यहि परिवर्तनको प्रभावित पिडालाई मेटाउन युवा वर्ग होमिएर लागि पर्नु आजको मूलभूत आवश्यकता देखिन्छ । इतिहासको भोक, रोक र शोकलाई निर्मुल पार्न अहिलेको परिसथितिमा कम्मर कसेर लागी पर्नु नै युवाले समाजमा गर्नुपर्ने भूमिका देखिन्छ । तर युवावर्गलाई यस्ता भूमिकाहरु नदिने हो भने युवा वर्गले विद्रोह पनि गर्न सिक्नुपर्छ ।
परिवर्तन आजैबाट नै गर्नुपर्छ अनि आफैबाट पनि गरिनु पर्छ । यति भनिरहदा परिवर्तन गर्न खोज्नेहरुमा र इच्छुकहरुमा नयाँ उत्सुकता जाग्नु स्वभाविक नै हो । यसलाई सहजै रुपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न अहिलेका जल्दा बल्दा युवाहरु तत्पर रहनुपर्छ । समाज परिवर्तनको अमूल्य सम्पति युवा नै हो भनीरहदा युवारुलाई राज्यले पनि नविन चेतना, जिम्मेवारी नागरिक र जागरुक नागरिकको दर्जामा उल्लेख गर्नुपर्छ ।
देश अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध कारणले अनेकौं झमेलामा अल्झिएको अवस्था छ । युवा पुस्ताले यस्ता झमेलालाई तिखारेर परिमार्जित गर्नु आवश्यक छ र आफू पनि तिखारिनु पर्छ । देशलाई कुन अवस्थामा लैजाने हो त्यसको निर्णय गर्ने जिम्मेवारी युवाहरुमा नै हुन्छ त्यसैले युवालाई सहि बाटोमा पहिचान गर्न सिक्नु पर्छ ।
हामी इतिहासको महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनौती र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु खडा भएका छन । जति बढी चुनौतिपूर्ण अवस्था हुन्छ हामीले गर्ने योगदानको महत्व त्यति नै बढी हुन्छ । यसैले आजको पुस्ता भनेको इतिहासमा सर्वाधिक महत्वपूर्ण योगदान प्रदान गर्न सुहाउने पुस्ता पनि हो । आज गरेको योगदानले भविश्यका लागि एक महान् अवसरको सृजना गर्ने बाटो पनि हो । यस्तो अवसरलाई युवाले गुमाउनु हुदैन ।
हामीले गर्ने र सिक्ने हो भने विगत आफै एउटा महत्वपूर्ण शिक्षक हो । जसरी एउटा शिक्षकले जीवनको कालान्तरसम्म पनि निरन्तर रुपमा विद्यार्थीहरुलाई पाठ सिकाईरहेको हुन्छ । त्यसरी नै युवाले पनि आफ्नो भूमिकाको बारेमा पाठ सिक्नु पर्ने हुन्छ । यहि भूमिकालाई आजको युवा पुस्ताले मनन गर्दै जानुपर्छ । विगतमा सिकेका, जानेका कुरालाई व्यवहारमा उतार्न सक्नुपर्छ । अनि मात्र देश तथा समाजले खोेजेको र रोजेको उपयुक्त नागरिकको रुपमा विश्वासिलो पात्र बन्न सकिन्छ ।
युवाहरूकै बीचमा अन्धविश्वासको दरिलो घेरा समाजमा बड्दै जाँदा समाजका विकृति र विसंगति मुक्त हुन सक्दैन भनेर सहजै अनुमान लाउन सकिन्छ । अब यस्ता विभेदकारीपूर्ण समाजको अन्त्य गर्न आजका युवावर्ग तातिनु पर्छ । योे अन्त्य गर्ने जिम्मेवारी अबका युवावर्गको हातमा छ । यो सभ्य समाजको निर्माणमा होमिनु युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ । अब आजका नयाँ युवा पुस्ताले समाजका यस्ता कुरिती, विकृतिलाई निमोठि सभ्य समाजको परिचय दिनु जरुरी छ । होइन भने इतिहास देखि ठगिन पुगेको नेपाली समाज अनि हाम्रो स्थान न्युन नै रहन्छ । सरकारले पनि युवाहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, र अस्थिरताको सामना गर्नुपर्ने स्थिति सिर्जना हुने निश्चित छ ।
हाम्रो पूर्खा देखि नै चलि आएको कुरीति वेतिथिती लगायतका समस्याहरु अहिलेका नव युवाहरुले निमू्र्ल पार्न सक्नुपर्छ । समाज परिवर्तन गर्न चाहना राखेर मात्र हुदैन । सर्वप्रथम त आफू परिवर्तन हुन जरुरी छ अनि मात्र समाजको परिवर्तन हुन्छ । युवापुस्ता भित्र पनि आफूलाई परिवर्तनको सम्भावक मान्नेहरु परिवर्तनको पक्षमा चालिनुपर्छ । समाज परिवर्तनको सम्भावना नै अहिलेका युवाहरू भनिरहदा कतै हामी युवा वर्ग नै यस्ता जालझेलमा त फसेका छैनौ? एकपटक खोजी गर्नुपर्छ युवा हामीले नै ।
अहिलेको परिस्थिति र समयले नै युवाहरुलाई खोजिरहेको छ । समाजमा रहेको लजास्पद विषयहरुको परिवर्तन गर्नको लागि आशाको केन्द्रविन्दु नै युवा बनाएको अवस्था छ । अब युवावर्गले ढिला गर्नु हुदैन । जातीय विभेद, अन्यय , अत्याचार लगायतका भेदभावको साङ्लो तोड्नु पर्छ अनि मान्छे मान्छे बीचमा रहेको यस्ता कुरितिको नाता तोड्नु जरुरी छ । युवावर्गले नै यस्ता कुराहरुलाई नजरअन्दाज गर्न थाल्ने हो भने यस्ता विसँगतीहरु लाई कसैले पनि हटाउन सक्दैन ।
त्यसैले युग बुझेका, संसार बुझेका युवा हामी अहिले नै यथास्थान बाट सक्रिय भएर लागि पार्नु आवश्यक छ । र समाजमा भएका भ्रष्ट अनि व्याप्त यस्ता कुठितिलाई जरै देखि उखेल्नु पर्छ । फलस्वरूप हामी युवाले आफ्नो पहिचान बनाउन सक्छौ होइन भने हामी सबै युवाको पहिचान दिनु बेकार हुन्छ ।

तपाईसँग पनि आप्mनो लेख , विचारहरु प्रकाशन गर्न चाहानुहुन्छ भने [email protected] मा ईमेल गर्न सक्नुहुनेछ । सम्पादक