images
images

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एकको ज्यान गयो

– ऋषि राई
१३ चैत्र , आईतबार , २०७८

कटारी/ उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरपुरमा आज दिउँसो आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ भने एकजनाको ज्यान गएको छ । दिउँसो अन्दाजि ३ बजेको समयमा भएको आगलागीमा परी ६८ वर्षिय शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी डण्डीकेशर मगरले टेलिफोनमा जानकारी गराउनुभयो ।
स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी सुरु भएको र आगलागीमा परी ओमबहादुरको आमा शिवमायाको ज्यान गएको पनि डण्डीकेशरले जानकारी दिनुभयो । डण्डीकेशरका अनुसार आँखा नदेख्ने ,कान पनि नसुन्ने शिवमायाको घरभित्रै जलेर ज्यान गएको हो ।
आगलागीमा परी भैरबबहादुर ग्राङ्जामगर , पदमबहादुर ग्राङ्जामगर,यम्बरबहादुर ग्राङ्जामगर,दिपबहादुर ग्राङ्जामगर , धनमाया ग्राङ्जामगर ,शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घरगोठ जलेर नष्ट भएको छ । आगलागीमा पत्येक घरपरिवारको दर्जनबढी बोका , बाख्रा , सुंगुर , कुखुरा जलेर नष्ट भएको छ ।
अन्नपात , लत्ताकपडा सवै जलेका छन् । स्थानीयका अनुसार उदयपुरगढीबाट प्रहरी आएर अनुसन्धान सुरु गरेका छन् । स्थानीयले अन्दाजी १ करोडबढीको क्षति भएको हुन सक्ने अनुमान गरेका छन् ।
आगलागी नियन्त्रणका लागि साँझ सम्म ट्याक्टरबाट पानी ल्याउने र निभाउने क्रम जारी रहेको छ । आगलागीबाट छिमेकीघरहरु बचाउन सकिएपनि ७ घरको पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।