जन्ताभ्वाईस सम्बाददाता
११ फागुन , बुधबार
कटारी /उदयपुरको कटारीमा आज साँझ नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसिसीको विरुद्धमा मसाल जुलुस प्रदर्शन गरेको छ । एमसिसी विरुद्धको ८ दलिय मोर्चाको संघर्षको कार्यक्रम अन्र्तगत आज साँझ कटारीमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
मसाज जुलुस कटारीको भूगोलपार्कमा आएर कोणसभामा परिणत भएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर , राष्ट्रघाती एमसिसी खारेज गर , दलालहरु होसियार , लगायतका नारा लगाउँँदै मसाल जुलुस गरिएको थियो ।
मसाल जुलुस पश्चातको कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले नेपालमा पुर्खाहरुले स्वाधिनता कायम गरेकाले आजसम्म स्वाधिन रहेको बताउनुभयो ।‘तर आज संसदवादीहरु राष्ट्रघात गर्न खोजिरहेका छन् ’उहाँले भन्नुभयो –‘संसदवादीहरु एमसिसीको नाममा नेपाललाई अमेरिकाको चंगुलमा पुराउन खोजिरहेका छन् ।’
काँग्रेसका केही नेताहरु एमसिसी पारित भएपछी देशमा कायापलट हुन्छ भन्ने भ्रम र हावादारी गफ दिईरहेको पौडेलको आरोप थियो । ‘काँग्रेसलाई हामी भन्छौं एमसिसीका वुँदाहरु राम्ररी पढ्नुस ’पौडेलले भन्नुभयो –‘विदेशीले दिने अनुदानमा हाम्रो आपत्ति छैन् तर नेपालको संविधानभन्दा माथि राखेर संसदवाट पास गराउन खोजिएको छ ।’
एमसिसी पारित गरे संसदहरुलाई नेपालमा वस्न नदिने समेत पौडेलले चेतावनी दिनुभयो । देशको स्वाधिनतामा आँच पुग्ने काम गर्न खोजे राणाशासन ढलेको स्मरण गराउँदै एमसिसी पारित गरे उनीहरुको चिहान खन्न तयार रहेको बताउनुभयो ।


जनता भ्वाइस 








