१९ माघ , बुधबार , २०७८
– ईमबहादुर लामा
यस वर्षको तामाङ्ग समुदायको मनाउने धार्मिक तथा साँस्कृतिक पर्व २८५८ औं सोनाम ल्होछार ताक ( च्यान/ बाघ) ल्हो आज मिति २०७८/१०/१९ गते परेको छ। तामाङ्ग जातिले ल्होछारलाई धार्मिक तथा साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको पाइन्छ। तामाङ्ग समुदायको आफ्नै भाषा छ जस्लाई तामाङ्ग भाषा भनिन्छ । तामाङ्ग भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ।त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ।
चन्द्र-पात्रोअनुसार जब सूर्य उत्तरायणको प्रारम्भिक चरणमा प्रवेश गर्छ र आकाशमण्डलमा मगा नाम गरेको नक्षेत्रको उदय हुन्छ, त्यो मगा नाम गरेको नक्षेत्रको उदयमान भएको शुक्ल पक्षको प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ । जुन नयाँ सालदेखि प्रकृतिमा हराभरा जीवनको शुरुआत हुन्छ भन्ने मान्यता छ। ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात् वर्षचक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरि धार्मिक र साँस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।
यो पर्व खासगरी भगवान बुद्धसंग सम्बन्धित रहेको देखिन्छ। कुरा के भने भगवान गौतम बुद्ध 80 वर्षको उमेरमा बित्नु भयो। वहाको आयु 80 वर्ष मात्र थिएन। वहा जति वर्ष पनि बाँच्न सक्ने वहाको आयु थियो। त्यस्तो अदभूत आयु लिएर आउनु भएको थियो तर त्यसको लागि एउटा शर्त थियो। शर्त के थियो भने, ” कसैले न कसैले भगवान गौतम बुद्धलाई तपाइँ अझै बाँच्नु पर्छ, तपाइँ मर्नु हुँदैन भनेर भन्नु पर्थ्यो।” बुद्ध आफै पनि भन्ने गर्नु हुन्थ्यो, ” मेरो व्यक्तिगत कुनै ईच्छा छैन। यदि कसैको हित हुन्छ भने म जति वर्षसम्म पनि बाँच्न सक्छु तर मेरो ईच्छाले म बाँच्न सक्दिनँ।”
त्यसै बेला भगवान गौतम बुद्ध जव 80 वर्ष आयुको खड्गोमा हुनु हुन्थ्यो। त्यति बेला धर्म-देशना दिने क्रममा उहाँले आफ्नो सबभन्दा प्रिय नजिकको चेला आनन्दसङ्ग घुमाउरो भाषामा आशीर्वाद थप आयुको लागि पटक पटक माग्नु भयो तर त्यतिबेला चेला भावनामा डुबेको अवस्था, उनले केही बोल्न सकेनन।
त्यति नै बेला भगवान बुद्धको धर्म-देशना त्यहीं नजिकै बसिरहेको राक्षेसले सुनिरहेको थियो। “तपाइँको अव काम छैन। तपाइँको औचित्य सकिसकेको छ। अव तपाइँ मर्नै निको हुन्छ।” भनेर फ्याट्ट आवाज आयो राक्षेसको मुखबाट।राक्षेस स्वाभाविक रूपमा उसको चरित्र, स्वभाव अमानवीय थियो।धर्म-पुन्यको कार्यले उनीमाथि अन्याय भएको महसूस उसलाई भइरहेको थियो। उसले वर्षमा हजारौ मान्छेमाथि अन्याय गरेर ज्यान लिनु पर्थ्यो। त्यो सम्भव नदेखेपछि श्राप राक्षेसले दिएको हो।
अव भगवान बुद्धको मर्नुबाहेक अरु केही विकल्पै भएन। त्यतिबेलै बुद्धले आफ्नो आयु सकिसकेपछि पृथ्विमा भएका सबै जनावरहरूलाई बोलाएर भने, ” अव म स्वर्ग जाँदै छु। पृथ्विमा मेरो आयु सकियो।” त्यहाँ जम्मा जनावरहरू बाह्र वटा मात्र आइपुगे। बुद्धले, “तिमीहरू पालै पालो शासन गर 1 / 1 वर्ष भनेर आदेश दिनु भयो।”
बत्यतिबेला सबभन्दा पहिले मुसा आयो। त्यसपछि क्रमश: गाई, बाघ्, खरायो, गरुढ्, नाग्,घोडा, भेडा, बाँदर, चरो, कुकुर र सुङ्गुर आयो। अनि बुद्धले भने, ” जो जो अगाडी आयो, त्यसै आधारमा 1 / 1 वर्ष शासन गर।” भनेर आदेश दिनु भयो। यसरी बाह्र वटा जनाबरको शासन शुरु भयो।यी 12 वटा ल्होमा जन्मेको मान्छेको चरित्र पनि ती जनावरसित मिल्न जान्छ भन्ने जनविश्वास पाइन्छ। यी 12 वटा ल्होको शासनको सार तत्व 1. शासन सत्तामा सबैको समान सहभागिता र समान पहुँच 2. सबैको पहिचान र 3. एक-अर्का को अस्तित्वलाई स्वीकार गरोस भन्ने नै हो।
राक्षेसको कारण अल्प आयुमा नै देहान्त कोही हुन नपरोस, अपराधीको भागीदार नबनोस, दु:ख, कष्टको भूमरीमा नपरोस भनेर नै पर्वको बेलामा, चाड्-पर्वको बेलामा शुभकामना दिने चलन राखिएको। मान्छे कुरा बुझ्दैन भनेर , जसरी बुद्धको चेलाले कुरा नबुझेर उनको देहान्त भयो।त्यसैले यो पर्वको बिशेष महत्त्व रहेको पाइन्छ ।
ल्होछार विशेषगरीकन ज्ञान र संस्कृतिमा आधारित भएर बुद्धिष्टहरूले मनाउने एउटा महान पर्व हो। ल्होछार पर्व दुई अर्थमा मनाउने गरिन्छ- १. ऋतु परिवर्तनको आधारमा र २. बोधिसत्व मञ्जुश्रीको जन्म भएको दिनको आधारमा । यो दुई अर्थमा ल्होछार पर्व मनाउने गरिन्छ ।
ल्होछारका विशेषताहरू:
१. धार्मिक महत्त्व : यस पर्वको अर्थ नै प्रकृतिको नियम ( The law of nature ) को बोध हुनु हो। र, त्यसअनुसार प्रकृतिसंग एकाकार भएर जीवनलाई चलाउनु भन्ने धार्मिक मान्यता रहेको छ।प्रकृतिको नियमलाई शास्त्रमा विधि-विधान भनिन्छ। जसरी देश संविधान, ऐन, कानूनबाट । न्यायालय खोलिएको हुन्छ । न्यायाधिश बनाइएको हुन्छ।तर, प्रकृतिमा न न्यायालय न न्यायाधिश, केही पनि हुँदैन तर कानून जरुर हुन्छ । त्यसैलाई विधि-विधान भनिन्छ। धार्मिक मान्यतानुसार प्रकृतिको कानून यस्तो हुन्छ कि कोही मान्छेले गल्ती गर्यो भने मुद्दा चलाएर, उसलाई दोषी ठहर्याएर, बल्ल गएर सजाय दिने भन्ने हुँदैन। प्रकृतिको नियम कस्तो हुन्छ भने जब मान्छेले गल्ती गर्छ,तत्कालै सजाय हुन्छ । त्यसैले मनुष्य जीवनका सबभन्दा महत्त्वपूर्ण तीन रत्न छन् : बुद्ध, धर्म र संघ । यो न कुनै समूहको नाम न कुनै संगठनको नाम न कुनै सम्प्रदायको नाम हो।
यस पर्वको अवसरमा सबै प्राणीहरूको सुरक्षा, शान्ति, सुखको लागि मंगल रहोस भनी कामना गरिन्छ । घरको अगाडि आँगनमा लुङ्दर ( दर्ज्यू ) गाड्ने चलन छ।
२.सामाजिक महत्त्व :
यस पर्वमा आफन्तजनहरू परदेशमा भए घरमा आउने, एक आपसमा भेटघाट गर्ने, मिठो खाने , मनोरञ्जन गर्ने गरिन्छ ।
३. आर्थिक महत्व :
सोनामको अर्थ कृषि या खेतीपाती भन्ने हुन्छ । कुन समयमा, कुन खेतीपाती गर्ने भन्ने विषय पनि रहेको हुन्छ।
४. यसको दाशनिक पक्ष:
मानिसको पीडा, दर्द बिर्सने दिमागमा कुनै त्यस्तो संरचना नै छैन। नराम्रो कुरा, नराम्रो घट्ना, ईर्ष्या, द्वेष , पीडा, दर्द बिर्सन Overlap system मा जानुपर्छ भन्ने मान्यता छ। यो विज्ञान सम्मत पनि छ। तपाईंले कसैबाट नराम्रो ( Negetive ) गुण लिनु छ भने उसलाई गएर भेट्नु पर्दैन, उसको feeling गर्नातास तपाईंमा सर्छ । मानिस जहिले पनि अगाडि बढ्ने कोशिस गर्नुपर्छ। त्यही पछाडि नसरोस भनेरै ल्होछार पर्व प्रथाजन्य रुपमा मनाउदै आएको मानिन्छ। मान्छेको पैताला अगाडि फर्काएको हुन्छ कि अगाडि बढोस भनेर। ।
यदि विगतमा, वितेकोमा या पछाडि कोही मान्छे या नेता फर्कन्छ भने त्यो किच्कन्नी हो। किन भने किच्कन्नीको पैताला पछाडि फर्किएको हुन्छ। नयाँ वर्षलाई अर्थात् नयाँ वर्षको दिन तपाईंले आफूलाई ‘Happy birthday to me’ भनेर बाँकी उमेर, जिन्दगी सुन्दर बनाउन सकिन्छ भनिएको छ। यस दिनलाई मेरो बाँकी सम्पूर्ण जिन्दगीको पहिलो दिन मान्नु भन्नू भएको छ भगवान गौतम बुद्धले ! जिन्दगी अगाडि हुन्छ, पछाडि मृत्यु हुन्छ। यदि कोही पछाडि फर्कन्छ भने उसंग हार्दिक श्रद्धाञ्जली, RIP बाहेक केही पनि हुँदैन भन्नू भएको छ अर्थात् Rest in peace !
हवस्त, अन्त्यमा मञ्जुश्री सम्वत २८५८ औं ताक सोनाम ल्होछारको पुनीत पावन अवसरमा देश-विदेशमा रहनुहुने सम्पूर्ण तामाङ्ग तथा गैरतामाङ्ग बन्धुहरूमा हार्दिक सद्भाव र शुभकामना व्यक्त गर्दछु ! लासो, थुजेछे !!
लेखक तामाङ्ग समुदायको अगुवा तथा बुद्धिजिवी हुनुहुन्छ
लामाको फेसबुकबाट साभार


जनता भ्वाइस 








