
– रेनु पराजुली
१९ माघ , बुधबार , २०७८
कटारी/ तामाङ्ग समुदायले मनाउने महान चाड २८सय ५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उदघाटन गरिएको छ । आज कटारी ५ स्थित भोर्लेमा कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मुर्तीसँगैको पार्क उदघाटन गरिएको हो ।
पार्कको उदघाटन गर्दै कटारी नगर प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवद्धृनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिवद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताउनुभयो ।
कार्यक्रममा यहाँका राजनीतिक दलका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । मदन भण्डारी राजमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्य समेत बढाएको स्थानीयले बताए ।
यसैबीच कटारीमा पनि सोनाम ल्होछार मनाईएको छ । नेपाल तामाङ्ग घेदुङ्ग संघ कटारीले तामाङ्ग समुदायको धार्मिक , एवम् साँस्कृतिक महान पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको हो । कटारी ३ को राजावास स्थित श्री साँङ्गे छोयलिङ्ग बौद्ध गुम्बा परिसरमा समेत भेला भई यो समुदायले ल्होछार पर्व मनाएका हुन् ।