उदयपुर
जनसहभागिता वापतको २५ लाख रुपैँया बुझाउन नसक्दा अवरुद्ध बनेको सुनकोसी खानेपानी लिफटिङ्ग वृहत खानेपानी आयोजना सूचारु हुने भएको छ ।
स्थानीयको आर्थिक अवश्थालाई मध्यनजर गर्दै कटारी नगर कार्यपालिकाको बैठकले लागत सहभागितावापतको रकम उपलब्ध गराईदिने निर्णय गरेसँगै नगर क्षेत्रमा बर्षौपछि शुद्धखानेपानीको सुनिश्चितता भएको हो । निर्णय लगत्तै शुक्रबार नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले थप प्रकृया अघि बढाउने गरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर खुलाल मगरलाई २५ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।
नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाको वडानं. ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा पाईपमार्फत घर घरमा पानी पुर्याईने लक्ष्य राखेको छ ।
१ हजार ५०० घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको आयोजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जव ट्ंयाङ्की राखिने छ । पहिलो वडानं १४ घुर्मिको सुनकोसी नदिबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाईलो डाँडामा रिजर्भ ट्ंयाङ्कीमा राखिने छ भने दोस्रो वडानं १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा रिर्जभ ट्ंयाङ्की राखी पानी वितरण गरिने समितिका अध्यक्ष मगरको भनाई छ ।
२४ करोड बढिको लागतमा निर्माणकार्य सुरु गर्न लागिएको आयोजनामा उपभोक्ताले जनसहभागितावापत २५ लाख रुपैँया जम्मा गर्नु पर्ने सम्झौतामा उल्लेख रहेको अध्यक्ष मगरले बताए । तर लागत सहभागिता बुझाउन नसक्दा लामो समयदेखि ठेक्का प्रकृया अवरुद्ध हुँदै आएको मगरले बताउनु भयो ।
‘रकम बुझाउन नसकेर योजना फिर्ता जाने हो कि भन्ने हामीमा ठुलो चिन्ता थियो, उहाले भन्नु भयो, ‘वास्तवमै स्थानीय सरकार जनतासँग छ भन्ने हामीलाई यो पटक अनुभुति भएको छ, अव थप काम अघि बढाउँछौ भौगोलिक कठिनाईका कारण नगरपालिका भएर पनि धेरै समस्या व्यहोरी रहेका यस क्षेत्रका स्थानीयका लागि आयोजनाले ठुलो राहात पुग्ने विश्वास लिइएको छ । पानी अभावकै कारण स्थानीयबासी तीन घण्टासम्म पैदलयात्रा गरी खोला, खोल्सी, सुनकोसीसम्म पुगेर तिर्खा मेटने गरेका छन् ।
नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पानीको चरम अभाव व्यहोरी रहेका जनतालाई लक्षित गरी आयोजना संचालन गर्न कार्यपालिका बैठकबाट २५ लाख रुपैँयाको सुनिश्चितता गरिएको बताउनु भयो । उहाँले, ‘उपभोक्ता आयोजना सञ्चालनमा जनसहभागितावापतको रकम जम्मा गर्न नसक्दा फिर्ता जाने भयो भन्दै आउनुभयो, अधिकांस गरिव, दुःखी जनता बस्ने भुगोल भएकाले नगरपालिकाबाटै सहयोग गरेका हौ ।
प्रमुख श्रेष्ठले माथिल्लो भेगका जनताको खानेपानीको समस्या समाधानको लागि अन्य कुनै विकल्प नभएपछि योजना छनौटदेखि वजेट विनियोजनसम्म आफु लागि परेको बताए । नगरपालिकाले उपलब्ध गराएको चेक हस्तान्तरण गर्दै श्रेष्ठले भन्नु भयो, ‘यो जिल्लाकै गौरवको आयोजना हो, समयमा सकिनु पर्छ र सञ्चालनमा आउनु पर्छ तव मात्र नगरपालिको लगानी गरेको वजेटको सहि सदपयोग भएको मुल्यांकन हुनेछ ।
उक्त आयोजना जिल्लाकै खानेपानीको क्षेत्रमा सबैभन्दा ठुलो आयोजना हो । आयोजनाबाट कटारी नगरपालिकाका ग्रामिणबस्तिमा खानेपानीको चरम अभाव टर्ने वडानं १४ का वडा अध्यक्ष तेजवहादुर आले मगरले बताउनु भयो ।


जनता भ्वाइस 








