images
images

एमाले उदयपुरले ‘एक नोट अभियान संचालन गर्ने

उदयपुर
नेकपा एमाले उदयपुरले कार्यकर्ता संरक्षणका लागि १ नोट अभियान सञ्चालन गर्ने भएको छ । आठौँ अधिवेशनबाट निर्वाचित कमिटीले बिहीबार सदरमुकाम गाईघाटमा आफ्नो तीन बर्षे कार्यकालको कार्ययोजना सार्वजानिक गर्न पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा कोष स्थापना गरेको जनाएको हो ।
तीन बर्षे कार्यकालमा कम्तिमा २० वटा बुँदामा काम गर्ने गरी तयार पारिएको कार्ययोजनामा कार्यकर्ताको उपचार र संरक्षणाका लागि कम्तिमा १ करोड पुर्याउने लक्ष्यसाथ कोष स्थापना गरिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष परमेश्वर घिमिरेले कार्यकर्ता सामान्य विरामी हुँदासमेत अरुको हात फैलाउनु पर्ने परम्पराको अन्त्य गर्न पहिलोपटक कोषको स्थापना गरिएको बताए । उनले भने, ‘एक संगठित सदस्य बराबर प्रतिमहिना एक नोट जम्मा गर्ने गरी हामीले योजना बनाएका छौ, जुन तल्लो कमिटीसम्म पुग्ने छ ।यसरी जम्मा भएको रकम कार्यकर्ता संरक्षणका लागि आवश्यकता र औचित्यका आधारमा खर्च गरिने उनले बताए ।
घिमिरेले टोलटोलमा पार्टी, घरघरमा सदस्यता अभियान सञ्चालन गरी ३० हजार संगठित सदस्य बनाउने, व्यवस्थित कार्यालय व्यवस्थित संरचना, व्यवस्थित संगठन, तीन महिनासम्म पार्टी प्रवेश अभियान सञ्चालन गरिने बताए ।
त्यसैगरी युवालाई काम, जेष्ठ नागरिकलाई सम्मान, विकासको अगुवाई र वर्गिय मुद्दाको नेतृत्व, समुदाय र सामुदायिक क्षेत्रमा एमाले, वाम लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिहरु विच एकता, जनताको सुख दुखको साथी नेकपा एमाले, कम्युनिष्ट आचारण र श्रमको सम्मान अभियान सञ्चालन गरिने लगायतका योजना रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्र्चाज मन्जुकुमारी चौधरीले नेकपा एमाले महिला, जनजाती, दलित सबैको साझा फुलवारी भएकाले त्यहीँअनुसार जिल्ला जिल्लामा संरचना तयार भएको बताईन् । उनले देखिने, सुनिने र गरिने खालको एमाले बनाउने अभियान केन्द्रिय कमिटीको रहेकाले तल्लो तहसम्म सुरु गर्न लागिएको बताइन् ।
उदयपुरमा महिला नेतृत्व पदाधिकारीमा समेटिएनन् नी भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘विधानले पदाधिकारीमा महिलाको व्यवस्था गरेको छैन् ३३ प्रतिशत महिला सुनिश्चितको कल्पना गरेको छ तर हामीले करिव ४० प्रतिशत महिलाको सहभागिता गरेका छौ ।
अर्का केन्द्रिय सदस्य अम्बिका थापाले भुगोल, समुदाय समेटदा र सर्वसहमत गर्दा महिला नेतृत्व पदाधिकारीबाट वाहिरिएको बताईन् । उनले बाँकी विभाग, सचिवालय जस्ता जिम्वेवारीमा महिलालाई उचित स्थान दिईन् बताईन् ।
पुस २३ गतेबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनले पाँच दिन लगाएर घिमेरको अध्यक्षतामा सर्वसहमत १ सय १७ जनाको जिल्ला कमिटी गठन गरेको हो । अधिवशेनमा ९ सय ५१ जना प्रतिनिधि रहेका थिए । कमिटीको उपाध्यक्षमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालुमान लामा र उपसचिवद्धयमा भरतबहादुर थापा, टेकबहादुर राउत रहेका छन् ।