जन्ताभ्वाईस सम्बाददाता
२६ भदौ , शनिबार , २०७८
कटारी / उदयपुरको कटारी , ५ स्थित भोर्लेमा निर्माण सम्पन्न भएको भीमसेन मन्दीरको आज एक कार्यक्रमका वीच उदघाटन गरिएको छ । कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तथा नेवा दे दबुका उदयपुर जिल्ला अध्यक्ष गौरीशंकर उदासको विशेष आतिथ्यमा मन्दीरको उदघाटन गरिएको हो ।
कार्यक्रममा मन्दीरको उदघाटन गर्दै मेयर श्रेष्ठले नगरका सवै वडाका सवै भाषाभाषिहरुको संरक्षण मठ मन्दीर गुम्बा , साकेला थान लगायतका संरक्षण र निर्माण गर्नु नगरको दायित्व भएको बताउनुभयो । त्यसैगरी ४ वर्षे कार्यकालमा पहिलो वर्ष कानुन बनाउँदै र त्यसपछीका कार्यकालमा कोभिडबाट जनता बचाउन लागि परेको बताउनुभयो ।
यसवीचमा पनि माथिल्लो वडाका सेवाग्राहीहरुलाई वेतेनीबाट आयोजनाको काम गर्ने सुरुवाति गर्नु , प्रत्येक वडामा सडकको पहुँच पुराउनु , खानेपानी , विजुलीको पहुँच पुराउनु उपलब्धिमुलक भएको मेयर श्रेष्ठको भनाई थियो । त्यसैगरी वेतेनीमै नगरको साझेदारीमा प्रदेशकै नमुना बनभोजस्थल निर्माण गरिने पनि मेयर श्रेष्ठले खुलासा गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि उदासले समान समाज निर्माण गरिनुपर्ने बताउनुभयो । त्यसैगरी नेवा दे दबुको जहाँ नेवार त्यहाँ भीमसेन मन्दीर निर्माण अभियानलाई सफलतामा पुराउन कटारी नगरपालिकाले निर्माण गरिरहेको विभिन्न भीमसेन मन्दीरले सहयोग पुगेकोमा नगरलाई धन्यवाद दिनुभयो ।
नेवा संघका कटारी ५ का अध्यक्ष पृथ्वी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य राख्दै दिलिप श्रेष्ठले मन्दीर नेवारहरुको मात्रै नभई सवै समुदायको भएको बताउनुभयो । कार्यक्रममा वोल्दै अतिथिहरु हेमा विक , कृष्ण श्रेष्ठ , राजेशचन्द्र श्रेष्ठ , ज्ञानबहादुर बानिया , मोहन तामाङ्ग लगायतले मन्दीर निर्माण हुनु सवै समुदायका लागि खुसीको कुरा भएको बताएका थिए ।
नगरपालिकाको १५ लाख सहयोगमा मन्दीर निर्माण भएको हो । विगतमा सँगै अर्को पुरानो मन्दीर पनि रहेकाले आवश्क कि वाध्यता भन्ने विवादमा वोल्दै वक्ताहरुले पुरानो मन्दीर मदनभण्डारी राजमार्गको सडकखण्डमा पर्ने भएकाले नयाँ मन्दीर निर्माण गरिएको बताए । कार्यक्रममा लाखे , रोपाई नाच लगायतका साँस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमा भेषभुषा सहित नेवार समुदायको उल्लेख्य सहभागीता रहेको थियो ।


जनता भ्वाइस 








