जन्ताभ्वाईस सम्बाददाता
१८ भदौ , शुक्रबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकाले पहाडी वडाका वडावासीहरुलाई ध्यानमा राखेर वडानम्बर ११ बेतेनीमा नगरकार्यपालिकाको सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहिबार एक कार्यक्रमका बीच नगरको पहाडी भेगका ५ वटा वडालाई पाएक पर्ने गरी सम्पर्क कार्यालय स्थापना गरिएको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । वेतेनीको नगरपालिकाले जिम्मा लिएर निर्माण गरको पर्यटन भवनमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
नगरका ९,१०,११,१३ र १४ नम्बर वडा गरी पाँच पहाडी वडाका जनताले अव वेतेनीबाट नै योजनाको प्राविधिक स्टिमेट र योजनाहरुको सम्झौताहरु गर्न सक्नेछन् । कार्यालयमा ईन्जिनियर विनोद खत्रीको नेतृत्वमा सव ईन्जिनियरहरुले सेवाग्राहीहरुलाई सेवा दिनेछन् । पहाडी वडाका उक्तवडाहरुले सेवा पाउन असहज भएकोले छुट्टै गाउँपालिका मागेका थिए ।
हाललाई उनीहरुको केही समस्या समाधान होस भनेर त्यहाँका सेवाग्राहीहरुलाई योजनाको कामका लागि कार्यालय स्थापना गरिएको मेयर श्रेष्ठले बताउनुभयो । पहाडी वडाका कामहरु लाई सहजीकरण गर्दै सहज रुपले सेवा प्रवाह प्रदान गर्न कार्यालय स्थापना गरिएको नगरपालिकाका सुचना अधिकारी ओम मिश्रले जानकारी दिनु भयो । कटारी बजारको नगरपालिकाको कार्यालयसम्म सेवा लिन आउनुपर्ने वाध्यता पहाडी नगरवासीका लागि थियो ।
कार्यालय स्थापनाले सहज हुने भएको छ । भौगोलिक हिसावले साथै विकट वडाका स्थानीयलाई कटारी बजारसम्मका कार्यालय आउन समस्या हुने भएकाले वेतेनीबाट नै सेवा दिनका लागि कार्यालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ । कार्यालयको उदघाटनमा कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमर प्रसाद भट्ट,लेखाअधिकृत दिलिप श्रेष्ठ,सबइन्जिनियर तथा सूचना अधिकृत ओम मिश्र वडा प्रतिनिधि लगायतको उपस्थिति थियो।कार्यालयमा हाल ५जना कर्मचारीले सेवा दिनेछन् ।


जनता भ्वाइस 








