
काठमाडौं–नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २का सभापति दोर्ण कुँवरले बागलुङको बुर्तिवाङमा ५० शैयाको अस्पताल बनाउन लबिङ सुरु गरेका छन् । दुर्गमका जनता स्वास्थ्य सेवाबाट बन्चित भएको भन्दै अस्पताल बनाउन कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवा र स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई छुट्टा छुट्टै भेटी ध्यानाकर्षण गराएका छन् ।
बुर्तिवाङ अस्पतालमा जनशक्ति सहित ५० शैया बनाउनका लागि प्रधानमन्त्री तथा स्वास्थ्य राज्य मन्त्रीको ध्यानाकर्षण गराएको सभापति कुँवरले बताए । जिल्ला सदरमुकामाबाट टाढा भएकाले त्यस क्षेत्रका स्थानीय उपचार गर्न छिमेकी जिल्ला गुल्मी, पाल्पा, बुटवल जाने गरेका छन् । चिकित्सक नहुँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता पनि रहेको छ ।
जनशक्तिको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि स्थानीयको माग बमोजिम कार्यको लागि आवश्यक कानुनी प्रक्रिया पुरा गरी कार्य अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयलाई पठाएको पत्रमा माग बमोजिम कार्य अघि बढाउन भनेको छ ।
बुर्तिवाङ अस्पतालमा बागलुङ सहित गुल्मी, रुकुमका विरामी पनि उपचार गर्न आउँछन् । सुविधा सम्पन्न भवन भए पनि विशेषज्ञ सहितका चिकित्सक र आवश्यकता अनुसार शैया नहुँदा स्थानीयले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।