
जन्ताभ्वाईस सम्बाददाता
३२ साउन , सोमबार , २)०७८
कटारी /दोस्रो हलेशीको परिचय बनाउँदै गएको उदयपुरको कटारी नगरपालिका ३ स्थित महादेव गुफामा आज उल्लेख्य संख्यामा भक्तजनहरुले पुजा आराधना गरेका छन् । साउनको हरेक सोमबार दर्शनार्थीहरुले पुजा आराधना गर्दै आएको महादेव गुफामा आज साउनको अन्तिम सोमबार ३ हजार बढीले पुजा आराधना गरेको गुफा व्यवस्थापन समितिका सदस्य तथा स्वयम् सेवक संयोजक देव ढुंगेलले बताउनुभयो ।
गुफामा पुजा आराधना गर्न कटारी आसपासबाट दर्शनार्थीहरु आईपुगेका थिए । कोरोना संक्रमण जोखिमका कारण प्रचार प्रसार नगरेको भएपनि स्वतस्फुर्त दर्शनार्थीहरु आएर पुजा आराधना गरेको गुफा व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो समय व्यवस्थापन समितिको पहलमा गुफामा आकर्षक संरचनाहरु वढेसँगै गुफामा आउने पुजा आराधना गर्ने तथा अवलोकन गर्न आउनेहरुको पनि संख्या बढ्दै गएको छ ।
गुफामा आएर पुजा आराधना गरे चिताएको पुग्ने जनविश्वास रहेको छ । साउने सोमबार विशेष गरी महिलाहरु तथा युवतीहरुले व्रतवस्ने र पुजा आराधना गर्ने चलन रहेको छ । त्यसैगरी वोलबम यात्रामा क्रममा पनि भक्तजनहरु गुफा आईपुग्ने गरेका छन् ।