जन्ताभ्वाईस सम्बाददाता
साउन २७ , बुधबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकामा सकृय रहेर खेलक्षेत्रलाई निरन्तरता दिईरहेको साथी समूह कटारीले सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगिता खेल्ने भएको छ । छनौट प्रतियोगिताका लागि समूहले अखिल नेपाल फुटबल संघ (एन्फा) मा टिम दर्ता गरिसकेको समूहका सदस्य राजकुमार थापा क्षेत्रीले बताउनुभयो ।
’सी’ डिभिजन लिग छनौट भदौमा आयोजना हुनेछ । एन्फाले ’सी’ डिभिजन छनौट भदौ १० गतेबाट सुरु हुने जनाएको छ ।’सी’ छनौटबाट तीन टिम ’सी’ डिभिजनमा बढुवा हुनेछन् ।यो खेल कटारीको फुटबल क्षेत्रका लागि ऐतिहासिक बन्ने खेलप्रेमीहरुको भनाई छ ।
यो खेलमा छनौट भए कटारीले राष्ट्रिय स्तरमा फुटबल मैदानमा थप ढोका खोल्नेछ । खेलमा सहभागिताका लागि हाल सहयोगका लागि विभिन्न निकायमा अनुरोध गरिरहेको समूहका सदस्य क्षेत्रीले बताउनुभयो । लगभग १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेलाडीहरुलाई सहभागी गराउन नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले ४लाख सहयोग गर्ने बताउनुभएको पनि सदस्य क्षेत्रीले जानकारी दिनुभयो । कटारीको खेलको विकासका लागि सवैलाई सहयोग गर्न पनि समूहले आग्रह गरेको छ ।


जनता भ्वाइस 







