जन्ताभ्वाईस सम्बाददाता
१४ , साउन , बिहिबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ ले गत आर्थिक वर्ष २०७७/ ०७८ मा सुत्केरी भएका ५२ जनालाई लोकल भाले र एकमाना घिऊ वितरण गरेको छ । गएको साउन १ गतेदेखि असार मसान्तसम्म वडामा सुत्केरी भएका ५२ जनाको घरमै स्वास्थ्यकर्मी सहितको टोली पुगेर भाले र घिउ वितरण गरेको वडाध्यक्ष कमल श्रेष्ठले बताए ।
नियमित गर्भजाँच गरेका सुत्केरीलाई भाले र घिउ वितरण गरिएको थियो । मातृशिशु स्वास्थ्यलाई विशेष महत्वमा राखेर स्वास्थ्यकर्मी सहितको परामर्श र पोषिलो खाना अन्र्तगत भाले र घिऊ वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।‘गाउँघरमा आमा र शिशु दुवैको स्वास्थ्यको ख्याल गर्नका लागि यो कार्यक्रम संञ्चालन गरेका हौं ।’उनले भने –‘नभए कतिले गर्भजाँच समेत गराउँदैनन् ।’
भाले र घिउ वितरण कार्यक्रमलाई निरन्तरता दिने पनि वडाध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी सोही आर्थिक वर्षमा जन्मिएका वालवालिकाहरुको खातामा पनि वालवालिकाहरुको भविष्यका लागि वडाले ५ हजार जम्मा गरिदिएको छ । यसका लागि कटारी स्थित मुक्तिनाथ विकास वैंकसँगको सहकार्यमा वडाले गत आर्थिक वर्षमा जन्मिएका ४२ वालवालिकाहरुको खाता खोलेर प्रतिवालवालिका रु ५ हजार जम्मा गरिदिएको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार खाता खोल्नका लागि वडाले अनिवार्य ४ पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको कार्ड र ३५ दिनभित्र जन्मदर्ता गराएको मापदण्ड राखेको थियो । सो मापदण्ड पुरा गरी वालवालिकाहरुको नाममा खोलिएको खातामा वडाले ५ हजार जम्मा गर्दा अभिभावकहरुले ५ हजार गरी १० जम्मा गरिएको छ । ‘यस खातामा अभिभावकले वर्षेनी कम्तीमा ३ हजार जम्मा गर्नुपर्नेछ ।’वडाध्यक्ष श्रेष्ठले भने –‘१६ वर्ष पुगेपछी मात्रै उक्त रकमको एकमुष्ट व्याज सहित निकाल्न पाईनेछ र त्यसलाई उनीहरुको उच्च शिक्षामा लगानी गर्नुपर्नेछ ।’
वडाका वालवालिकाहरुलाई उच्च शिक्षासम्म अध्ययन गराउन प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याईएको बताउँदै वडाध्यक्ष श्रेष्ठले यो कार्यक्रमलाई पनि निरन्तरता दिएको बताए । वडामा गएको आर्थिक वर्षमा ५२ वालवालिकाहरु जन्मिएका भएपनि १० जना वालवालिकाका अभिभावकहरुले खाता खोल्न मन्जुर नभएकाले ४२ जना वालवालिकाहरुको खाता खोलिएको वडाले जनाएको छ ।