ऋषि राई ,
५ साउन , मंगलबार , २०७८
कटारी / लगभग तीनदशक अघिदेखि उदयपुरको कटारी नगरपालिका –३ स्थित राजवासगाउँको दक्षिणपूर्वी वन क्षेत्रमा कटारी आसपासका राई समुदायले सामुहिक रुपमा उभौली , उधौली मनाउँदै आएका थिए । सुरु सुरुमा राई संस्कृति अनुसार तोसी , भुमे गर्दै आएका राई समुदायले पछिल्लो समय त्यहा उभौली उधौली धुमधामका साथमा मनाउँदै आएका थिए ।
२०४९ सालमा नै त्यहाँ साकेला थान स्थापना गरिएको राई समुदायका अगुवाहरु बताउँछन् ।
देशको द्वन्दकालमा बनमा समूहमा जान नदिएपछि केहि वर्ष वर्षेनी नियमित विधि विधानहरु गर्न नसकेपनि शान्ति स्थापनापछी त्यहाँ राई समुदायले सामुहिक रुपमा साकेला उभौली उधौली मनाउन थालेका थिए । धुमधामका साथ राई समुदायले मनाउने महान चाड उधौली उभौलीमा त्यहाँ पुगेर साकेला व्यवस्थापन गर्न किरात राई यायोक्खा नगर कमिटीलाई निकै समस्या थियो । त्यहाँको थान संरक्षण गर्नुका अलावा उभौली उधौलीमा त्रिपाल टाँगेर घामपानी छेक्दै साकेला नाचिन्थ्यो ।
तर तीनतहको सरकार गठनसँगै यस साकेला थानमा सम्बन्धित निकायको समेत आँखा पर्दै गएको छ । फलस्वरुप अहिले साकेला थान एउटा रमणिय स्थलको रुपमा परिवर्तन हुँदै गएको छ । उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद सुरेस राईको पहलमा संस्कृति मन्त्रालयबाट विनियोजित ५ लाखको साकेला थान र १५ लाखको किरात माङ्खिम घर निर्माणाधिन अवस्थामा पुगेको छ ।
अव घामपानीमा रुभ्mदै साकेला नाच्नु पर्ने , साकेला थान कसरी जोगाउने भन्ने चिन्ता राई समुदायलाई हहट्दै गएको छ । अहिले राई समुदायको संस्कृति झल्कने संरचनाहरु धमाधम निर्माण भईरहेको किरात राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पदम राई बताउँछन् । साकेला थान कटारीको मात्रै नभई प्रदेशकै नमुना र रमणीय बनाउन नगरपालिकाले समेत हातेमालो गर्ने मेयर ज्ञानेन्द्र श्रेष्ठले प्रतिवद्धता जनाए । संस्कार संस्कृति बचाउन नगरपालिका लागि परिरहेकोले त्यस क्षेत्रमा शौचालय लगायतका सम्पूर्ण व्यवस्थापनका काम गर्ने पनि श्रेष्ठले बताए ।
त्यसैगरी साकेला थानमा धेरै महिलाहरुको सहभागीतामा उभौली उधौली मनाईने भएकाले महिलाहरुका लागि आवश्यक पर्ने आवश्यक सहयोग गर्न जहिले तयार रहने उपमेयर भिमकुमारी राउतले बताईन् । सामुहिक रुपमा भेला भएर धुमधामका साथ साकेलाको विधिवत पुजा आराधना गर्दै वर्षमा उभौली र उधौली मनाउने राई समुदायको साकेला स्थानले रुप फेर्दै गएको छ ।अहिले त्यस क्षेत्रमा राई समुदायको संस्कृतिको प्रतिक चिण्डोको प्रतिमा राख्ने , साकेला नाच्ने पार्क , साकेला थान , माङ्खिम घर , निर्माणाधिन अवस्थामा छ । निकट भविष्यमै सुन्दर वंगैचा सहितको पार्क निर्माण गर्ने लक्ष्य रहेको राई समुदायका अगुवाहरु बताउँछन् ।


जनता भ्वाइस 







