images
images

प्रहरी लगाएर करिडोरको टावर गाड्न सुरुभएपछी कटारी ४ का स्थानीयले नगरमा गरे तालाबन्दी

ऋषि राई /रेनु पराजुली
२४ असार , बिहिबार , २०७८

कटारी /उदयपुरको कटारी नगरपालिका , ४ का स्थानीयले बिहिबार दिउँसो कटारी नगरपालिकामा तालाबन्दी गरेका छन् । सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गाउँबाट अन्यत्र सार्नुपर्ने माग राख्दै विगत तीनवर्षदेखि आन्दोलित स्थानीयले तालाबन्दी गरेका हुन् । पटक पटक ज्ञापन पत्र वुझाउँदै प्रधानमन्त्री , उर्जामन्त्री लगायतका सरोकारवालाहरु समक्ष समेत माग राखेर एलाईन्टमेन्ट परीवर्तन गरी टावर गाउँभन्दा अन्यत्र सार्ने आश्वासन पाएपनि पुरा नभएपछी स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले कटारी , ४ को मरुवामाविमा प्रहरी राखेर टावर गाड्न सुरु गरेपछी स्थानीयले नगरमा तालाबन्दी गरेका हुन् । नगर आईपुगेका स्थानीयहरुको टोलीका अगुवा डाकबहादुर थापाले प्रहरी लगाएर काम थालेपछी पहिलो सर्त तालाबन्दी र तालाबन्दीपछी मात्रै विकल्पमा वार्ता गर्ने अडान मेयर ज्ञानेन्द्र श्रेष्ठलाई राखेपछी तालाबन्दी गरिएको हो । मेयर ज्ञानेन्द्र श्रेष्ठले समस्या समाधानका लागि आफु सम्बन्धित निकायमा बारम्बार छलफल गरिरहेको बताएका थिए ।
गाउँमा प्रहरी राखेर गाउँ नै आतंकित बनाएर टावर गाड्न सुरु गरेको भन्दै स्थानीयले नगरलाई स्थानीय सरकारको भूमिका निर्वाह गर्न माग गरेका थिए । सरकारको एलाईन्टमेन्ट परिवर्तन गर्न नसकिने सर्त मानेपनि मुअब्जा लगाएतका विषयमा जनतासँग सहमति नगरी काम थालिएको भन्दै नगरमा तालाबन्दी गर्न स्थानीय आईपुगेको स्थानीयले बताएका छन् । कटारी नगरपालिका–४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम तीनवर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुराउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् । लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ। सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ।
उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।
नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ। २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो।कटारी , ४ मरुवाका स्थानीयले गाउँमा पर्ने १० वटा टावर राख्न दिएका छैनन् । प्रहरीले बुधबारदेखि गाउँनजिकैको बन क्षेत्रबाट टावर राख्ने काम सुरु गरिसकेका छन् । नगरमा तालाबन्दी गरिएपछी असार मसान्त नजिकिंदै गर्दा योजनाहरुको फरफारक गर्ने लगायतका सेवाग्राहीका काम रोकिएका छन् ।