images
images

सोलु करिडोर विवाद ः टावर अन्यत्र सार्नुपर्ने कटारी ४ का स्थानीयको माग यथावत

जन्ताभ्वाईस सम्बाददाता
२१ , असार , सोमबार
कटारी / उदयपुरको कटारी नगरपालिका , ४ का स्थानीयले सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गाउँबाट अन्यत्र सार्नुपर्ने मागबाट पछी नहट्ने बताएका छन् । सोमबार नगरपालिकामा ज्ञापन पत्र बुझाउन आएका स्थानीयले प्रहरी ,प्रशासन लगाएर टावर गाड्ने प्रयास नगर्न चेतावनी दिंदै आवश्यक परे नगरपालिकामा दबाब दिन सबै स्थानीय आईपुग्ने बताउनुभयो ।
नगरपालिकाका उपमेयर भिमकुमारी राउतलाई समस्या राख्दै स्थानीय अगुवा डाकबहादुर थापाले पटक पटक प्रधानमन्त्री , उर्जामन्त्री समक्ष समेत ज्ञापन पत्र बुझाउन गएको स्मरण गराउँदै उनीहरुले दिएको आश्वासन पुरा नभएकाले नगरपालिका झकझाउन आउनु परेको बताउनुभयो । सोलु करिडोरको प्रसारण लाईनको टावर गाउँबाट राख्न दिए अन्य आयोजनाले पनि गाउँबाट टावर राख्न सक्ने भएकाले गाउँबाट टावर अन्यत्र बनक्षेत्रमा सार्नुपर्ने मागलाई यथावत राखेको पनि थापाले बताउनुभयो ।
स्थानीयको मागलाई सम्बोधन गर्दै उपमेयर भिमकुमारी राउतले राष्ट्रिय गौरबको आयोजनालाई नगरले सहयोग गर्ने भएपनि जनताको चित्त बुझाएर काम गर्नुपर्ने बताउनुभयो । तत्कालिन उर्जामन्त्री टोपबहादुर रायमाझीले बजारमा घडेरी आउनेगरी मुअब्जा दिने बताएको भएपनि हाल स्थानीयले बजारमा घडेरी आउने गरी मुअब्जा आउने महसुस आफुलाई पनि नभएको बताउँदै उपमेयर राउतले जनताको सहमति विनाको काम सह्य नहुने बताउनुभयो ।
कटारी नगरपालिका–४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुराउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् । लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ। सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ।
उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ। २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो।कटारी , ४ मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन् ।