जन्ताभ्वाईस सम्बाददाता
१५ असार , मंगलबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ मा नवनिर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवन उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बीच कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले ४३ लाखमा निर्माण गरिएको एकतले भवनको उदघाटन गर्नुभएको हो । कार्यक्रममा मेयर ज्ञानेन्द्र श्रेष्ठले भवन उदघाटन गर्दै नगरमा स्वास्थ्य क्षेत्रमा नगरवासीहरुको पहुँच बढाउन सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी नगरको वडा नम्बर २ , ३ , ५ र ६ नम्बर मा पनि सोही किसिमको भवन निर्माण अन्तिम चरणमा पुगिसकेको नगरका स्वास्थ्य शाखा संयोजक शुरेस दाहालले बताउनुभयो ।
त्यसैगरी सोही वडामा वेलसोत युवा क्लबको भवन पनि आज नै उदघाटन गरिएको छ । १८ लाखको भवनमा निर्माण गरिएको भवनको प्रदेश नम्बर १ का कृषी तथा सहकारी राज्य मन्त्री कला घलेले उदघाटन गर्नुभयो । नगरपालिकाको सहयोगमा भवन उदघाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री घलेले उक्त भवनबाट युवाहरुले समाज विकास र रुपान्तरणमा सघाउ पुग्ने आशा व्यक्त गनुृभयो । विशेष अतिथि कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले युवाहरुलाई समेट्ने गरी क्बलले भूमिका खेल्नु पर्ने बताउनुभयो । क्लबको स्थापना २०७६ सालमा भएको सचिव योगेन विष्टले बताउनुभयो । क्लबले लागुऔषध नियन्त्रण , समाजका अनियमितता तथा व्यथितिहरुमा निगरानी गर्ने पनि पनि सचिव विष्टले बताउनुभयो ।