
जन्ताभ्वाईस सम्बाददाता
२७ जेठ ,बिहिबार
कटारी / उदयपुरको कटारी नगरपालिकामा २ सय १२ जनाले कोरोना विरुद्धको चाईनिज खोप भेरोसिल लगाएका छन् । कटारी अस्पत्तालको केन्द्रमा बुधबार र विहिबार दुईदिन खोप लगाईएको थियो । बुधबार ५० जना र बिहिबार १ सय ६२ जनाले खोप लगाएको कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालले बताउनुभयो । ६२ देखि ६४ वर्ष सम्मको उमेर समूहकाहरुलाई पहिलो मात्राको खोप लगाईएको पनि नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
खोप लगाउने क्रममा अन्य उमेर समूहका व्यक्तिहरुले समेत पहुँचका आधारमा खोप लगाउन दबाब दिन खोजेको भएपनि मापदण्डको उमेर समूहकालाई मात्रै लगाईएको पनि प्रमुख दाहालले बताउनुभयो । नगरपालिकाको पहाडी भेगबाट खोप लगाउन आउन समस्या भएकाले शुक्रबार नगरको ८
देखि १४ नम्बर वडाका लागि पहाडी वडामै केन्द्र बनाएर खोप लगाउन जाने तयारी गरिरहेको पनि प्रमुख दाहालले बताउनुभयो ।
यसैवीच नगरका पहाडी क्षेत्रका वडाध्यक्षहरुले भने निषेधाज्ञाका कारण वडाबाट खोप लगाउन सेवाग्राहीहरुलाई कटारी अस्पत्ताल पुग्न नसकेको बताएका छन् । कोरोनाको संक्रमणका बेला वडाको स्वास्थ्य चौकीहरुबाट खोप लगाउन सकेमात्रै सवैले खोप लगाउन सक्ने उनीहरुले बताएका छन् । वडा नम्बर ८ का वडाध्यक्ष कमल श्रेष्ठले कटारी बजारको अस्पत्ताललाई केन्द्र बनाएर खोप लगाउँदा पहाडी वडावासीहरु वञ्चित हुनुपरेको बताउनुभयो । केन्द्र निर्धारण गर्दा पहाडीवडाहरुलाई विभेद गरिएको पनि श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी वडा नम्बर ९ को वडाध्यक्ष बेगबहादुर आलेले नगरको स्वास्थ्य शाखाले वडालाई ३० थान खोप लगाउन आउने बताएको भएपनि उक्त ३० थान खोप वडामा कसलाई लगाउने कसलाई नलगाउने भन्नेमा समस्या पर्ने बताउनुभयो । त्यस्तै वडा नम्बर ११ का वडाध्यक्ष दिपक वुढाक्षेत्रीले टाढाका वडाहरुबाट कटारी अस्पत्तालमा आउन समस्या भएकाले खोपवाट वडा वञ्चित भएको बताउनुभयो ।