
जन्ताभ्वाईस सम्बाददाता
१२ जेठ , बुधबार , २०७८
कटारी /उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नगरपालिकाले प्रति मृतक २५ हजार मृतकको परिवारलाई दिने भएको हो । नगरकार्यपालिकाको मंगलबारको वैठकले प्रति मृतक परिवार २५ हजार दिने निर्णयसँगै होमआईशोलेसन किट समेत उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
संक्रमणबाट ज्यान गुमाएका नगरवासीहरुलाई सहज होस भन्ने उद्येश्यले रकम दिने निर्णय गरिएको बताउँदै मेयर श्रेष्ठले एकै परिवारका एकभन्दा बढीको संक्रमणबाट ज्यान गएमा प्रति मृतक उनको परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो । ‘जति जनाले ज्यान गुमाउँछन उति नै २५ हजारका दरले सहयोग उपलब्ध गराउँछौं ’मेयर श्रेष्ठले भन्नुभयो –‘संक्रमितलाई किट वितरण गर्ने समेत निर्णय गरेका छौं ।’कोरोनाका कारण मृत्यु भएका अतिविपन्न स्थानीयवासीहरुलाई वडा कार्यालयको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।
संक्रमितलाई वितरण गरिने किटमा स्वास्थ्य सामाग्रीहरु राखिने पनि नगरपालिकाले जनाएको छ । प्रति संक्रमितलाई दिईने किटमा औषधिहरु , मास्क , स्यानिटाईजर लगायत संक्रमितलाई आवश्यक सामाग्री राखिने र वितरण गरिने छ ।
त्यसैगरी मंगलबारको कार्यापालिकाको वैठकले नगरको वडा नम्बर १० मा १३ घरधुरी विस्थापित हुने अवस्थामा पुगेकोले भूगर्भविद झिकाएर वस्न नसक्ने अवस्था आए नगरपालिकाले वसोवास योग्य उपयुक्त स्थानमा वसोवासको व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।
नगरमा मृतक संख्या ५ , संक्रमित संख्या ९५
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हाल कोरोना संक्रमणबाट ५ जना नगरवासीले ज्यान गुमाएका छन् । शाखाका प्रमुख शुरेस दाहालका अनुसार नगरको वडा नम्बर ३ का २ जना वडा नम्बर ४ को १ जना र वडा नम्बर १४ को २ जना गरी ५ जनाले ज्यान गुमाईसकेका छन् । वडा नम्बर १४ का २ जना काठमाडौंमै संक्रमित भई ज्यान गएकाले जिल्लाको तथ्याङ्कमा नआएपनि नगरवासीको मृत्यु संख्या भने ५ जना पुगेको पनि शाखा प्रमुख दाहालले बताउनुभयो ।
त्यसैगरी मंगलबारसम्ममा कटारीमा सकृय संक्रमितको संख्या ९५ पुगेको छ । संक्रमणबाट निको हुनेको संख्या १५ जना रहेको छ । संक्रमितमा कटारी ३ को ताराघारी आईसोलेसनमा ७ जना , कटारी अस्पत्तालको आईसोलेसनमा अक्सिजन सहित उपचाररत १ जना रहेका छन् भने अन्य होम आईसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।