जन्ताभ्वाईस सम्बाददाता
वैशाख १७ , शुक्रबार
कटारी/ उदयपुरको कटारीमा कोरोना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै कटारी नगरपालिका र ईलाका प्रहरी कार्यालय कटारीले संयुत रुपमा निःशुल्क मास्क वितरण गरेको हो ।
कटारी बजार तथा चोकमा मास्क वितरण गर्दै कटारी नगरपालिकाका उपप्रमुख भिम कुमारी राउतले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । कोरोना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन बिहिबार मास्क वितरण गरिएको र शुक्रबारबाट अनिबार्य रुपमा मास्क प्रयोग गर्न सबैलाई आग्रह गरिएको र मास्क प्रयोग नगरेमा कार्बाहि गरिने इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएस्पि हेमन्त भण्डारी क्षेत्रीले बताउनु भयो ।
त्यसैगरी नगरका मूख्य नाकाहरुबाट आएका यात्रुहरुलाई स्वास्थ्य अवस्था तथा न्युनतम सतर्कताका मापदण्डहरु अपनाएको छ कि छैन् ,अवलोकन गरी सहजिकरण हेल्थ डेष्क स्थापना गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटाउने पनि निर्णय गरिएको छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग , भौतिक दुरी कायम तथा पसल तथा कार्यालयहरुमा अनिवार्य स्यानिटाईजरको व्यवस्था गरिने भएको छ ।
नगरपालिकाको वैठकले अन्यत्र जोखिम क्षेत्रबाट आएकालाई होम क्वारेन्टाईनमा वसे नवसेको सम्बन्धित वडा कार्यालय तथा उद्योग वाणिज्य संघ तथा सरोकारवालाहरुले निगरानि गर्ने निर्णय गरेको छ । कटारीमा वैशाख १६ विहिबारदेखि होटल , पसल तथा व्यवसाय विहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र संञ्चालन गर्न पाईनेछ ।त्यसैगरी होटलमा वस्नेहरुले अनिवार्य होटलमा अभिलेख राख्नु पर्ने पनि वैठकले निर्णय गरेको छ ।
ईलाका प्रशासन कार्यालय कटारी , ईलाका प्रहरी कार्यालय कटारी ,शसस्त्र प्रहरी वेश क्याम्प कटारी , वडाकार्यालयका प्रमुखहर तथा सरोकारवालाहरुको वैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम चारैतिर वढ्दै गएपछी नगरले आकस्मिक वैठक वसी यस्तो निर्णय गरेको हो ।



जनता भ्वाइस 







