images
images

कटारी , ४ मा गरिएको कालोपत्रे २४ घण्टा पनि टिकेन

जन्ताभ्वाईस सम्बाददाता
१ वैशाख , वुधबार , २०७८

कटारी/कटारी नगरपालिकाका वडा नम्बर , ४ स्थित कटारी–मरुवा खण्डमा गरिएको कालोपत्रे २४ घण्टा पनि टिकेन । रातारात कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेकोले सडक निमार्ण नसकिँदै उप्किएको स्थानीयले गुनासो गरेका छन् । आईतबार राति रातारात गरिएको कालोपत्रे २४ घण्टा नबित्दै सोमबारदेखि उक्किएपछि गुणस्तरहीन काम भएको थाहा पाएको स्थानीय धीरेन्द्र कोइरालाले बताउनुभयो । दिउँसो गरेको काम ठिकै जस्तो देखिएपनि राति गरिएको काम भने गुणस्तरहिन रहेको पाईएको स्थानीय कृष्ण थापाले बताउनुभयो । ‘राति गरिएको काममा धुलो नउडाईएको र प्राईमर पनि उडिसकेकोले काम नलाग्ने काम भएको हो ’थापाले भने – ‘धुलो राखेर अलकत्रा हालेपछी काम कामै नलाग्ने भएको हो ।’
वडा नम्बर ४ का वडाध्यक्ष तथा नगरका प्रवक्ता कृष्णराज दनुवारले सडक कालोपत्रेका काममा डष्ट अर्थात धुलो नउडाई अलकत्रा हालेपछी उप्किन थालेको बताउँदै सवै भत्काएर नयाँ बनाउन लगाउने बताउनुभयो ।‘धुलो मै अलकत्रा हालेछन् , प्राईमर पनि कम भएपछी सडक उप्किएको हो ।’सवै गुणस्तरहिन काम भत्काएर नयाँ बनाउन लगाईने अध्यक्ष दनुवारले बताउनुभयो । प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ को लागतमा कालोपत्रेको काम सुरु भएको थियो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम सुरु गरेको उक्त कालोपत्रे २४ घण्टासमेत नटिकेको हो । २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार कम्पनीले ३२ सय मिटरमा कालोपत्रेको काम गरिरहेको छ । कटारी , ४ को अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने ठेकेदारले काम थालेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीयले धुलोबाट आजित भएको भन्दै सडक खण्डमा यातायात संञ्चालनमा अवरोध समेत गर्दै आएका थिए।