
जन्ताभ्वाईस सम्बाददाता
२७ चैत्र ,शुक्रबार , २०७७
कटारी/ सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैया– कटारी –घुर्मी सडकखण्डको स्तरउन्नती गर्नका लागि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गर्न पुग्नुभएको छ । कटारी नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम थापा लगायतको सरोकारवालाहरुको टोली लिएर मेयर श्रेष्ठ प्रधानमन्त्री समक्ष पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले तुरुन्त उक्त सडकखण्डमा बजेट छुट्याएर सडक कालोपत्रेको काम अघि बढाउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको मेयर श्रेष्ठले बताउनुभयो । सम्बन्धित मन्त्रालयलाई ठाडो ह्विप जारी गर्दै यस सडकखण्डलाई तुरुन्त स्तरउन्नतीको काम बढाउन प्रधानमन्त्ती ओलीले निर्देशन दिनुभएको पनि मेयर श्रेष्ठले बताउनुभयो । यस खण्डको सडक वर्षौदेखि जिर्ण हुँदा धेरैले दुख पाईरहेका छन् ।
यसैवीच सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उदयपुरको कटारी नगरपालिका ४ मरुवामा ५ वटा टावरको रुट परिवर्तन गर्नका लागि माग गर्न पुगेको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ सहितको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टावर सार्न नसकिने बताएर फर्काउनुभएको छ । गाउँबाट राख्न खोजिएको टावर अन्यत्र सार्न भन्दै जनप्रतिनिधिहरु तथा सरोकारवालाहरु लिएर पुगेको मेयर श्रेष्ठ सहितको टोलीलाई बिहिबार साँझ प्रधानमन्त्री ओलीले टावर अन्यत्र सार्न नसकिएको बताएर फर्काएको मेयर श्रेष्ठले बताउनुभयो ।
उर्जा मन्त्रालय , विद्युत प्राधिकरण लगायतका निकायमा विगत ४ वर्षदेखि डेलिगेसनका लागि जाँदा पनि समस्या समाधान नभएपछी मेयरको टोली प्रधामन्त्री समक्ष पुगेको थियो । ‘प्रधामन्त्री ज्युले पनि सार्न नसकिने धारणा राख्नुभयो ।’मेयर श्रेष्ठले भने –‘हामीले समस्या राख्यो तर टावर सार्न नमिल्ने प्रधानमन्त्रीको धारणा आयो । ’ लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे ) को टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।