images
images

सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनु पर्छ–सहअध्यक्ष पौडेल

काठमाडौं–राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् ।
६४ औं राष्ट्रिय सहकारी दिवस अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै सहअध्यक्ष पौडेलले सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए ।

प्रतिस्पर्धी अर्थतन्त्रमा सहकारी संस्थालाई सवल, सक्षम, पारदर्शी र प्रतिस्पर्धी वित्तीय संस्थाको रुपमा विकास गर्न आग्रह गर्दै सहअध्यक्ष पौडेलले सहकारी संस्थामा सरल र सुलभ रुपमा प्रविधि सेवा विस्तार गनुपर्ने आवश्यकता रहेको औंलाए । सहकारी ऐन, नियमावली, सहकारीको प्रस्तावित २५ वर्षे दीर्घकालीन रणनीतिले सहकारीमा प्रविधिलाई प्रयोगमा ल्याउन प्रोत्साहित गरेको पौडेलद्वारा जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

यो वर्ष मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नारासहितसहकारी दिवसको अवसर मनाइँदैछ । मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सदस्य आवद्ध छन् ।

संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न सहकारी दिवसले सबै सहकारीकर्मीलाई प्रेरणा प्रदान गर्नेमा सहअध्यक्ष पौडेलले विश्वास व्यक्त गरेका छन् । ‘संविधानको मर्म अनुरुप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ,’ सहअध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्ने बताउँदै सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचलान गरेर सार्थकता दिन आग्रह गरेका छन् ।

शुभकामना सन्देशको पूर्णपाठ

विश्वमा सहकारीको इतिहास धेरै लामो भए पनि नेपालको सहकारी इतिहास छोटो छ । मुलुकमा सहकारी संस्था स्थापना भएको ६३ वर्ष पूरा भएकोे छ । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यो वर्ष मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नारासहित ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
सहकारी दिवसको अवसरमा म सम्पूर्ण सहकारीकर्मी, सहकारी संघसंस्था, सहकारीसँग प्रत्यक्ष वा परोक्ष रुपमा आवद्ध सरोकारवाला, सहकारीका सदस्य, सहकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । विश्वभर फैलिएको कोभिड–१९ संक्रमणले मुलुकको अर्थतन्त्रसहित सहकारी क्षेत्रमा पनि असर पा¥यो । कोभिडको संक्रमण पूर्ण रुपमा नियन्त्रण भएको छैन । अझै सावधानी अपनाउनु पर्ने अवस्था छ ।
मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सदस्य आवद्ध छन् । संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न सहकारी दिवसले सबै सहकारीकर्मीलाई प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गर्दछु ।
सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढेको छ । सहकारी ऐन, नियमावली, सहकारीको प्रस्तावित २५ वर्षे दीर्घकालीन रणनीतिले सहकारीमा प्रविधिलाई प्रयोगमा ल्याउन प्रोत्साहित गरेको छ । सहकारी संस्थालाई व्यावसायिक र प्रविधि मैत्री बनाउन यो वर्ष मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नारा तय गरिएको छ । प्रतिस्पर्धी अर्थतन्त्रमा सहकारी संस्थालाई सवल, सक्षम, पारदर्शी र प्रतिस्पर्धी वित्तीय संस्थाको रुपमा विकास गर्नुपर्छ । त्यसका लागि सबै सहकारी संस्थामा सरल र सुलभ रुपमा प्रविधि सेवा विस्तार गनुपर्ने आवश्यकता छ । सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिएर वित्तीय शुसासन कायम गर्नुपर्छ ।
सहकारी क्षेत्रका समस्या सामाधान गर्न तथा गुनासालाई सम्बोधन गर्न बोर्डले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय लगायत सहकारी सम्बद्ध निकायसँग समन्वय गर्दै अघि बढिरहेको छ । सहकारी विकास बोर्ड सहकारी मन्त्रालयको नीति निर्देशन, मार्गदर्शन, सहकारी विभाग र सहकारी अभियानसँगको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
संविधानको मर्म अनुरुप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ । सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्छ । सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचलान गरेर सार्थकता दिनुपर्छ । सरकारले तोकेको कार्य जिम्मेवारी अनुरुप बोर्डले सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुसार सहकारी अभियानबाट सुझाव लिएर सहकारी ऐन, नियमको मस्यौदा तयार पारी सरकार समक्ष प्रस्तुत गर्नेलगायतका आफ्नो दायित्व पूरा गर्दै आएको छ । आगामि दिनमा पनि बोर्डले आफ्नो दायित्वलाई पूरा गर्नेछ ।सहकारी दिवसको अवसरमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता दिलाउन सहकारी सक्षम रहने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु । जय सहकारी ।

दक्ष पौडेल
सह–अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्ड
मिति २०७७ चैत्र २०गते