ऋषि राई
१२ चैत्र , विहिबार
कटारी / सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उदयपुरको कटारी नगरपालिका ४ मा जारी अवरोधको समस्या समाधान गर्न आईपुगेका उर्जामन्त्री टोपबहादुर रायमाझी स्थानीयको विरोधपछी विना निष्कर्ष मरुवाबाट फर्किएका छन् । आज बिहिबार दिउँसो हेलिकोप्टरबाट कटारी आईपुगेर स्थानीयले अवरोध पुराएको मरुवामा पुगेका मन्त्री रायमाझी विरुद्ध स्थानीयले चर्को नाराबाजी समेत गरेका थिए ।
स्थानीयको चर्को विरोधले लखेट्न थालेपछी मन्त्रीलाई प्रशासन र सुरक्षाकर्मीले अन्दाजी एकघण्टा सुरक्षित गरी मरुवावाट नगरपालिका तर्पm सुरक्षित स्थानमा ल्याएको थियो । नगरपालिकामा छलफल गर्ने भन्दै निस्किएका मन्त्रीको विरोध गर्दै स्थानीय नगरपालिकासम्म आएनन् ।
मन्त्री गाउँमा पुगे लगत्तै स्थानीयले घरबास उठ्ने भन्दै कोरिडोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए । मन्त्री रायमाझीले सबैलाई खुसी पारेर सन्तुष्ट बनाउँदै सोही रुटबाट टावर गाडिने थप विरोध भए सुरक्षाकर्मी लगाएर टावर राख्दै आएको अन्यत्रको उदाहरण दिएपछी स्थानीय आक्रोशित भएका थिए ।
आक्रोसमा आएका स्थानीयको भीड थाम्न नसकि फटाफट निस्किएका मन्त्री रायमाझीलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित गरी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठसँग लामो छलफल पछी मात्रै मन्त्री मरुवाबाट निस्कन सफल भएका थिए । उर्जा मन्त्री मुर्दाबाद , सेना परिचालन गरे गोली थाप्छौं भन्दै स्थानीयले चर्को नाराबाजी गरेका थिए ।
स्थानीय कृष्ण थापा , डाकबहादुर थापा लगायतले स्थानीयको समस्या मन्त्री समक्ष राख्दै टावरको रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए । कटारी नगरपालिका–४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुराउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् ।
लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ।
सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ।
उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ।
२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो।कटारी , ४ मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन् ।


जनता भ्वाइस 







