जन्ताभ्वाईस सम्बाददाता
१० चैत्र , मंगलबार , २०७७
कटारी /उदयपुरको कटारी नगरपालिकाको उत्तरी पहाडी वडा १० नम्बरमा पर्ने पालसिङ्ग बरालथुम्काकामा भएको दुःखद आगलागी पिडितहरुलाई शुभारम्भ समाज नेपाल , कटारीले राहत वितरण गरेको छ । आईतबार साँझ भएको आगलागीमा सुजन थापाको ३ वर्षिय छोराको जलेर मृत्यु भएको थियो ।
पिडित परिवारहरुलाई शुभारम्भले सोमबार तीनघरलाई प्रतिघरपरिवार तीस तीस किलो चामल , दुई दुई किलो दाल ,दुई दुई पोका नुन ,साबुन , तेल , मसला चप्पल र चट्टाई राहत सहयोग गरेको उपाध्यक्ष राजु मगरलेब बताउनुभयो । पिडित परिवारका १२ जना सदस्यलाई एकसरो कपडा समेत शुभारम्भले प्रदान गरेको थियो । आगोले सम्पूर्ण घरगोठ जलेको परिवारलाई राहत होस भन्ने उद्येश्यले समाजले घटनास्थलमै पुगेर सहयोग गरेको समाजका अध्यक्ष सविता मगरले बताउनुभयो ।
आईतबार साँझ आगलागीबाट ३ वर्षिय छोरा अर्बिन थापाको ज्यान समेत मुमाएका सुजन थापा , प्रकाश थापा र मेखबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो । प्रकाश थापाको परालको कुनिउबाट आईतबार साँझ एक्कासी सल्केको आगोले स्थानीय सुजन थापाका ३ वर्षीय छोरा अरविन्द्रको ज्यान गएको थियो भने प्रकाश र सुजन थापाका घर तथा मतान जलेर खरानी भएको छ । आगलागीबाट प्रकाश थापाको ढुंगामाटोले बनेको फुसको छाना भएको ३ तले एउटा घर, २ मतान र १ लाख ५० हजार नगदसमेत जलेर नष्ट भएको थियो ।
त्यस्तै २ तोला सुन, १५ तोला चाँदी, अन्नपात, लत्तापकडा, भाँडाबर्तन र २ वटा बाख्रा पाठा तथा एउटा भैंसीको पाडा जलेको छ । प्रकाश थापाको मात्र २८ लाख बराबरको धनमाल आगोले खाएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सुजन थापाको पनि ढुंगामाटोले बनेको फुसको छानाको २ तले घर, एउटा मतान, बाख्रा खोर र २ वटा पाठा, अन्न्।पात, लत्ताकपडा, भाँडाबर्तन र १ लाख ५० हजार नगद जलेको छ ।
उहाँको पनि ३० लाख बराबरको क्षति भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।त्यसैगरी अर्का छिमेकी मेखबहादुर थापाको पनि ढुंगामाटोकै २ तले घर र एउटा मतान जल्दा अन्नपात, लत्ताकपडा, भाँडाबर्तन बाख्राका पाठा ३, कुखुरा २५ वटा गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहाडको ठाउँमा चल्ने हावा र पानी अभावका कारण आगो नियन्त्रण गर्न नसक्दा ३ घरपरिवारको सम्पूर्ण जायजेथा जलेको स्थानीयले बताएका छन् ।


जनता भ्वाइस 








