जन्ताभ्वाईस सम्बाददाता
फागुन २७ , बिहिबार,२०७७
कटारी / उदयपुरको कटारी नगरपालिकाका ३५ जना फरक क्षमता भएका अपाङ्ग व्यक्तिहरुलाई निशुल्क ह्लि चियर वितरण गरिएको छ । आज कटारीमा एक कार्यक्रमको आयोजना गर्दै कमलामाई ढुवानी सेवा कटारी १ ले वडा नम्बर १ देखि ७ सम्मका प्रति वडा ५ जनाका दरले ३५ जनालाई ह्लि चियर वितरण गरेको हो ।
सेवाका प्रोपाईटर सविता थापा मगरले नगरका विभिन्न समाजसेवी मनकारी सहयोगदाताहरुको सहयोगबाट ह्लि चियर वितरण गरेको बताउनुभयो । वडा कार्यालयले वडाबाट छनौट गरी सिफारिस गरेका व्यक्तिहरुलाई ह्विल चियर वितरण गरेको सेवाका प्रोपाईटर थापाले बताउनुभयो ।
कार्यक्रममा ह्विल चियर वितरण गर्दै प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले नगरमा फरक क्षमता भएका व्यक्तिहरुको विकासका लागि अक्षय कोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा उदयपुर लामा कन्ट्रक्सनका संञ्चालक अमर लामाले अक्षय कोषका लागि एकलाख सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नगर अपाङ्ग संघ कटारीका कोषाध्यक्ष जानुका कार्कीले कटारी नगरपालिकामा अपाङ्गमैत्री भवनहरु नभएको , अपाङ्गहरुलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु नगरले निर्माण गर्न नसकेको गुनासो गर्नुभयो ।नगरमा धेरै कर्मचारीहरु माग हुन्छ त्यसमा पनि क्षमताका आधारमा अपाङ्ग व्यक्तिहरुालई पनि प्राथमिकतामा राख्नु पर्ने उहाँको भनाई थियो ।
ह्विल चियर पाएका फरक क्षमताहरु भएका व्यक्तिहरुले भने आफुलाई सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्षले नगरमा आएका अपाङ्ग सम्बन्धि कार्यक्रमहरुमा आवश्यक सहकार्य गर्न नसकेको बताउनुभयो । उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले अपाङ्ग व्यक्तिहरुका लागि ह्विल चियर वितरण अत्यन्त्य महत्वपूर्ण सामाजिक कार्य रहेको बताउनुभयो ।