फोटो सौजन्य / थविन्द्र मगरको फेसबुकबाट
जन्ताभ्वाईस सम्बाददाता
२७ फागुन , बिहिबार,२०७७
कटारी / उदयपुरको ताप्ली गाउँपालिकाको दुई वटा वडामा आगलागी भएको छ । गाउँपालिकाको वडा नं २ लेखगाउँका ३ घरमा आगलागी भएको हो । बुधबार दिउँसो करिब २ बजे बेद बहादुर मगरको घरबाट सल्किएको आगोले ३ घरका साथै मतान र गोठ जलेर नष्ट भएको हो ।आगलागीबाट बेद बहादुरको दुई वटा घर, कागजात, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने जंग बहादर मगरको एउटा घर जलेको छ । त्यस्तै युवराज मगरको गाई र बाख्रा गोठ दुई वटा र एउटा मतान जलेर नष्ट भएको छ ।
स्थानीय र इनामे प्रहरी चौकीको संयुक्त प्रयासमा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट बेद बहादुरको १० लाख, जंग बहादुरको ५ लाख ५० हजार र युवराजको २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोगाली के कारण लाग्यो अझै खुल्न सकेको छैन । त्यसैगरी ताप्लीकै वडा नं वडा नं ५ रुपाटार बिजुवाका पञ्च बहादुर नेपालीको घरमा पनि आगलागी भएको छ ।
बुधबार दिउँसो घरमा ७ वर्षिय छोरीले आगो खेलाउने क्रममा मतानमा राखिएको घासबाट सल्किएको आगोले नेपालीको दुई तले घर र मतान जलेर पूर्ण रुपमा नष्ट भएको छ । मतानमा रहेका २१ वटा बाख्रा मध्ये २० वटा बाख्रा जलेर मरेका छन् । त्यस्तै २८ मुरी धान, मकै, कोदो, ५० हजार नगद, ४ तोला चादी, १ तोला सुन र लत्ताकपडा गरि जम्मा १८ लाख ६९ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।


जनता भ्वाइस 








