जन्ताभ्वाईस सम्बाददाता
१५ फागुन , शनिबार
कटारी / उदयपुर उद्योग वाणिज्य संघ कटारीको नवनिर्मित भवनको आज एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । आज संघका अध्यक्ष पुष्कर खड्काको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्य र कटारी नगरपालिका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको विशेष आथित्यमा भवनको उदघाटन गरिएको हो ।
भवनको उदघाटन गर्दै प्रमुख अतिथि ढकालले नीजि क्षेत्रलाई सवै तहको सरकारले सहयोग गरेमात्रै देश समृद्ध बन्ने बताउनुभयो । सवै तहको सरकारले नीजि क्षेत्रलाई लगानीको वातावरण तयार गर्नुपर्ने उहाँको भनाई थियो । त्यसैगरी निकट भविष्यमै कटारीमा ग्लोबल आईएमई वैंकको शाखा स्थापना गर्ने पनि ढकालले प्रतिवद्धता जनाउनुभयो । यस क्षेत्रमा सम्भावित सवै क्षेत्रमा लगानी गर्न आफु अघि बढ्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कटारी नगरपालिकाका विकास लगायतका समृद्ध नगर बनाउन संघले नगरपालिकासँग हातेमालो गरिरहेको बताउनुभयो । त्यसैगरी कटारी १० बाट हलेसीसम्म केवुलकार निर्माणका लागि नीजि क्षेत्रले पनि सहयोग गर्न मेयर श्रेष्ठले आग्रह गर्नुभयो ।
कार्यक्रमका अर्का विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले देश समृद्ध बनाउन साना साना पुजीलाई पनि लगानी गर्ने वातावरण बन्नुपर्ने बताउनुभयो । कार्यक्रमको समापन गर्दै संघ अध्यक्ष पुष्कर खड्काले आप्mनो कार्यकालमा निर्माण सक्ने प्रतिवद्धता पुरा गरेको बताउनुभयो । भवन निर्माणमा सहयोग पुराउनुहुने सवैलाई अध्यक्ष खड्काले धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष अरुण साहले २०२९ सालमा स्थापित संघले २०६६ सालदेखि निर्माण सुरु गरेको भवन सम्पन्न गरेको बताउनुभयो । कार्यक्रममा भवन निर्माणमा सहयोग पुराउने दाताहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । कटारी नगरपालिकाको मूख्य सहयोग र ग्लोबल आईएमई वैंकको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


जनता भ्वाइस 








