काठमाण्डाै – डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टर–फाइनलको पहिलो लेगमा पराजित भएको छ ।
एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सउल नियुएजको सुरुवाती गोल निर्णायक बन्दा लिभरपुल घरेलु टोलीसँग एक–शून्यले स्तब्ध भयो । निगुएजले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । खेलको अधिकांश समय बलमा पकड जमाए पनि लिभरपुलले गोल भने गर्न सकेन ।
लिभरपुलले खेलमा फर्किने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । मोहम्मद सलाहको प्रहार पाेस्टबाट बाहिरियो । जोर्डन हेन्डरसनले पनि पाएको मौका गुमाउन पुगे । बेन्चबाट आएका डिभोक ओरिगी र एलेक्स च्याम्बरलिनले पनि खेलमा प्रभाव जमाउन सकेनन् ।
अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । १९ वर्षे इर्लिङ हाल्याण्डले दुई गोल गर्दा घरेलु मैदानमा डर्टमण्डले पीएसजीलाई दुई–एकले पराजित गर्यो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६९औँ मिनेटमा हाल्याण्डले रिबाउण्डमा आएको बललाई गोल गरेका थिए । ७५औँ मिनेटमा पीएसजी खेलमा फर्कियो । नेयमारले एमबाप्पेको क्रसलाई गोलमा परिणत गरे ।
त्यसको दुई मिनेट पनि बित्न नपाउँदै हाल्याण्डले फेरि गोल गरे । उनले २० यार्ड टाढाबाट प्रहार गरेको ‘लेफ्ट फुटेड शट’ गोलमा परिणत गरेका थिए ।